Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अविवाहित बालिकाले जन्माएको नवजात शिशुको उद्धार

उद्‌घोष संवाददाता
२९ पुष २०८२, मङ्गलवार

सांकेतिक तस्वीर ।

सुनसरी । सुनसरी जिल्ला अस्पताल इनरुवामा एक अविवाहित बालिकाबाट जन्मिएको नवजात शिशु हराएको घटनाले रहस्यमय बन्दै जाँदा प्रहरीले शिशु र आमाको उद्दार गरेको छ ।

एक सातादेखि बेपत्ता शिशु र आमाको अवस्थाबारे स्पष्ट जानकारी नआउँदा अनुसन्धानमा जुटेको सुनसरी प्रहरीले दुबै जनालाई फेला पारी महिला बालबालिकाको क्षेत्रमा सक्रिय एक संस्थाको जिम्मा लगाएको हो ।

जिल्ला अस्पताल इनरुवामा गत पुस २२ गते राति पेट दुख्ने समस्या लिएर आएकी १७ बर्षीय एक अविवाहित बालिकाले आकस्मिक कक्षमै नवजात शिशु जन्माएको अस्पताल स्रोतले जनाएको छ । 

शिशु जन्मिएपछि आमा र शिशुलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) अन्तर्गतको प्रसूति कक्षमा राखिएको थियो । 

तर उपचारको क्रममा आमालाई पेट दुख्ने समस्या देखिएपछि अस्पताल प्रशासनले शिशुलाई ओसीएमसीकै जिम्मामा राखी आमालाई उपचारका लागि पठाएको बताइएको छ । 

सोही क्रममा शिशु र आमाको अवस्था तथा उनीहरू कहाँ छन् भन्ने विषयमा अस्पष्टता देखिएको थियो । 

अस्पताल स्रोतका अनुसार अविवाहित नाबालिकाबाट शिशु जन्मिएको जानकारी बाहिर नआओस् भन्ने उद्देश्यले परिवारका सदस्यले शिशुलाई घर लैजाने भनिएको थियो, तर पछि आमा र शिशुको अवस्था अज्ञात बनेको थियो । 

घटनासम्बन्धी कुनै औपचारिक उजुरी नपरेको र जानकारी ढिलो आएकाले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले सक्रियता बढाएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले घटनाबारे कार्यालयमा औपचारिक उजुरी नपरे पनि जानकारी आएपछि आमा र नवजात शिशुको खोजी तथा अनुसन्धान कार्य अगाडि बढाइएको थियो । 

उनले भने ‘घटना गम्भीर प्रकृतिको भएकाले सबै पक्षसँग समन्वय गरी खोजी गर्दा आइतबार आमा र नवजात बच्चाको उद्धार गरी एक संस्थाको जिम्मा लगाइएको छ । बाँकी कुरा अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार अस्पतालमा अविवाहित नाबालिकाले शिशु जन्माएको जानकारी ढिलो प्राप्त भएकाले घटनास्थल सुरक्षित गर्न र तत्काल खोजी गर्न केही कठिनाइ आएको थियो । 

तथापि आमा र शिशुलाई सकुशल फेला पारेर संस्थाको जिम्मा लगाइएर अनुसन्धानलाई सशक्त बनाइएको प्रहरीले जनाएको छ । 

यो घटनाले अस्पतालको सेवा प्रणाली, ओसीएमसीको व्यवस्थापन र बाल संरक्षण सम्बन्धी संयन्त्रको प्रभावकारिता माथि पनि प्रश्न उठको छ ।

View : 186

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved