Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

बंगलादेशका हिन्दु समुदायको सुरक्षा गर्न बंगलादेशी राजदूतलाई ज्ञापन

उद्‌घोष संवाददाता
२५ साउन २०८१, शुक्रवार

विराटनगर । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छाडेर भारत भाग्न बाध्य बनेपछिको हिंसात्मक घटनाहरुमा त्यहाँका अल्पसङ्ख्यक हिन्दु सनातनीहरूको सुरक्षा गर्न माग गरिएको छ ।

आरक्षण विरोधी आन्दोलनको परिणाम बंगलादेशमा सामुदायिक भावना नै बिथोलिने गरी भएका घटनाहरू हिन्दु समुदाय लक्षित भएको भन्दै विश्व हिन्दु महासंघ नेपालले बंगलादेशका राजदूत समक्ष ज्ञापन पत्र बुझाएको छ ।

महासंघका महासचिव शम्भुहरि बास्तोलाले हिन्दु समुदाय लक्षित अमानवीय गतिविधि रोक्नका लागि ज्ञापन पत्रमार्फत आग्रह गरेको बताए । उनले महासंघले साउन २३ मै विज्ञप्तिमार्फत उक्त घटनाहरूको बारेमा बंगलादेश सरकारको ध्यानाकर्षण गराएको बताए ।

‘बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरू तुरुन्त बन्द गर्न गराउन राजदूतावास मार्फत बंगलादेशका सम्बन्धित सबै निकायहरूसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौँ’ शुक्रबार बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘विश्वास छ, महामहिम राजदूतज्यू मार्फत बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरू तुरुन्त बन्द भई धार्मिक अल्पसङ्ख्यकहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिने वातावरण तयार पारी शान्ति पुनःस्थापना हुनेछ ।’

ज्ञापन पत्र बुझ्दै राजदुत सलाहुद्दिम नमन चौधरीले जतिसक्दो चाँडो बंगलादेश सरकार समक्ष ज्ञापनपत्र पुर्‍याएर आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाएको महासचिव बास्तोलाले बताए ।

View : 538

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved