Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कुकुरले टोक्दा आफैं एन्टिरेविज भ्याक्सिन लिएर उपचार गर्न जानुपर्छ कोशी अस्पतालमा

भ्याक्सिन भएका बेला पनि स्वास्थ्यकर्मीले घटनालाई सामान्य रूपमा लिने भएकाले मानिसको ज्यानसम्म जाने जोखिम छ । अस्पतालमा रेबिज बिरूद्धको खोप नलगाइएकाले सशस्त्र प्रहरीका पूर्व उपरीक्षक तथा कानुन व्यवसायी यज्ञ शिवाकोटीको ज्यान गएको उनको परिवारको दावी छ ।
उद्‌घोष संवाददाता
३२ असार २०८२, बुधवार

विराटनगर । नेपाल सरकारले रेबिज विरूद्धको खोप सरकारी अस्पतालहरूलाई निःशुल्क उपलब्ध गराउने भएकाले कुकुरको टोकाइको समस्यामा परेका पीडितले पनि खोप निःशुल्क पाउँछन् ।

गएको १३ गतेदेखि कोशी अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन छैन । कुकुरले टोकेर आएका बिरामी आफैंले खरिद गरेर ल्याएपछि मात्रै अस्पतालले भ्याक्सिन लगाइदिन्छ । 

भ्याक्सिन भएका बेला पनि स्वास्थ्यकर्मीले घटनालाई सामान्य रूपमा लिने भएकाले मानिसको ज्यानसम्म जाने जोखिम छ ।

अस्पतालमा रेबिज विरूद्धको खोप नलगाइएकाले सशस्त्र प्रहरीका पूर्व उपरीक्षक तथा कानुन व्यवसायी यज्ञ शिवाकोटीको ज्यान गएको उनको परिवारको दाबी छ । 

विराटनगर–८ का शिवाकोटीको असार २१ गते मृत्यु भएको छ । 

छोरी इशाका अनुसार घरको कुकुर डुलाउन बिहान बाहिर निस्किएका बेला सडकमा भेटिएको एउटा सानो कुकुरले उनको हातमा टोकेको थियो ।

चोट सामान्य भए पनि घर नजिकैको कोशी अस्पतालको आकस्मिक कक्षमा गएर उनले घटना बताएका थिए । 

‘एन्टी रेबिजको भ्याक्सिन लगाउन भनेनन्, टिटानासको इन्जेक्सन दिएर पठाएछन्,’ इशाले भनिन् । 

शिवाकोटीको ल फर्मका साझेदार अधिवक्ता विश्वनाथ पोखरेलले गएको मंसिरमा कुकुरले टोकेपछि उपचारका लागि अस्पताल जाँदा टिटानासको मात्रै इन्जेक्सन लगाई दिएकाले उनले त्यसकै भरमा विश्वास गरेर बसेका थिए ।

‘यज्ञ दाइको मृत्यु रेबिजकै कारण भएको हो, किनभने उहाँलाई असार १५ गते दहीच्युरा खाने दिन केही पनि खान मन लागेन, १६ गते अस्पताल लैजादा पानी पनि पिउन मन थिएन,’ पोखरेलले भने । 

१७ गते थप उपचारका लागि काठमाडौं लैजाने क्रममा शिवाकोटीले १०–१५ दिनमा ठिक भएर आउने र असार ३१ गते छोरी इशालाई भेट्न अमेरिका जाने टिकट नै बनेको पोखरेललाई बताएका थिए ।

इमर्जेन्सीमै लापर्वाही

असार २७ गते बेलुका करिब ९ बजे कोशी अस्पतालको इमर्जेन्सी वार्ड बिरामीले भरिभराउ थियो । कोही रगत बान्ता गर्दै थिए त कसैलाई पिएको विष बान्ता गराउन स्वास्थ्यकर्मी र चिकित्सक व्यस्त थिए । 

त्यही बेला कुकुरले टोकेका एक बालक र एक व्यक्ति उपचारका लागि त्यहाँ पुग्दा उनीहरू उपचारको प्राथमिकतामा परेनन् ।

कुकुरले टोकेका बिरामीको उपचार अस्पतालको बहिरङ विभाग (ओपीडी) भवनको ५ नम्बर कोठामा हुने भएकाले भोलिपल्ट शनिबार त्यही जान डा. आयुश मिश्रले सुझाव दिए । 

चोटबाट रगत बगिरहेकाले प्राथमिक उपचारको आग्रह गर्दा उनले रेबिजको उपचार गर्ने ठाउँमै जान आग्रह गरे । बिरामी धेरै र मेडिकल अफिसर एक जना मात्रैको ड्युटी हुने भएकाले मिश्र केही तनावमा थिए ।

बिरामीले अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाललाई यसबारे जानकारी गराएपछि मिश्रले अस्पताल प्रशासनलाई बताए पनि केही नहुने जिकिर गरे । 

सिलवालले भने अस्पतालमा जस्तोसुकै चोट लागेर आएको मानिसको प्राथमिक उपचार गरेर मात्रै पठाउने चलन रहेको र लापर्वाही गर्ने स्वास्थ्यकर्मी वा चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने बताए । 

‘४० जना बिरामी एकैपटक हेर्दैछु, हाम्रो प्रोटोकलले दिंदैन रेबिजको उपचार गर्न,’ उनले बिरामीलाई भने । शनिबार बिहान ८ बजे डा. मिश्रले भनेको समयमा ओपीडी भवनको ५ नम्बर कोठामा पुग्दा बन्द थियो । 

अति आवश्यक भनिएको खोप लगाउने ठाउँ बन्द रहेकाले ओपीडी इञ्चार्ज नमिता वर्मालाई बिरामीले पटक–पटक फोन गरे पनि उठेन । ९ बजे मात्रै ५ नम्बर कोठा खुलेको थियो । 

रेबिज विरूद्धको खोप सरकारले उपलब्ध नगराएकाले असार १३ गतेदेखि सेवा बन्द रहेको सूचना ५ नम्बर कोठामा लगाइएकाले बिरामी अन्योलमा पर्ने गरेका छन् । तर, आफैं खरिद गरेर ल्याएको खण्डमा खोप भने लगाइने गरिएको छ । 

कुकुरले टोकेपछि पहिले बिरामी इमर्जेन्सी वार्डमै पुग्छन् । मंगलबार एक जना बिरामी ५ नम्बर कोठामा इमरजेन्सीबाट लेखेको पुर्जी लिएर पुगेका थिए । पुर्जीमा कुकुरले टोकेको चोट नदेखिएकाले खोप लगाउन नपर्ने लेखिएको थियो ।

पूर्व सुरक्षाकर्मी तथा कानुन व्यवसायी शिवाकोटीलाई पनि त्यसरी नै फर्काइएकाले ज्यान गएको हुनसक्ने बताइन्छ । 

खोप लगाउने सो कोठामा बाहिरी पोसाक लगाएका र परिचयपत्र नभिरेका मानिसले सेवा दिने गरेकाले बिरामीले कोबाट खोप लगाइयो भन्ने थाहा पाउँदैनन् । कोशी अस्पतालका प्रमुख डा. रुना झा स्वास्थ्य सेवा विभागलाई जानकारी गराए पनि खोप नआएको बताउँछिन् ।

उनले खोप लगाउने कर्मचारी नै भएको र उनीहरूलाई अनिवार्य सरकारी पोसाक लगाउन भनिएको दाबी गरिन् । इमरजेन्सी वार्डमा पनि चोट लागेर आएका मानिसको प्राथमिक उपचार गरेर मात्रै पठाइने गरिएको उनले बताइन् । 

इमर्जेन्सी वार्डलाई अस्पतालमा रेबिज विरूद्धको खोप नभएको जानकारी छ । तर, सो कुरा त्यहाँका चिकित्सक र कर्मचारीले बिरामीलाई बताउने गरेका छैनन् । 

इमरजेन्सी वार्डका एक स्वास्थ्यकर्मीले भने- ‘बिरामी धेरै हुन्छन्, डाक्टर एक जनामात्रै त्यसैले बिरामीको तनावमा डाक्टर हुन्छन् ।’ 

बिरामी चोटको उपचारमा पहिले सम्पर्क गर्न पुग्ने इमर्जेन्सीमै लापर्वाही गरिंदा मानिसको ज्यान थप जोखिममा पर्ने कानुन व्यवसायी विश्वनाथ पोखरेलको भनाइ छ ।

View : 773

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved