Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बाबुसाहेब टोलका अग्निपीडित ३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

उद्घोष सम्वाददाता
६ चैत २०८०, मङ्गलवार

विराटनगर । रंगेली नगरपालिका–३ बाबुसाहेब टोलस्थित सन्थाल बस्तीमा चैत ३ गते भएको आगलागीबाट प्रभावित भएका ३१ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ ।

रंगेली नगरपालिकाभित्रका २७ वटा सामुदायिक विद्यालय र नगरपालिकाकै शिक्षा शाखाले १७ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री किनेर हस्तान्तरण गरेको हो ।

बाबुसाहेब टोलमा आगलागी हुँदा त्यहाँ रहेका २८ घर पूर्ण रुपमा जलेका थिए । वार्षिक परीक्षा चलिरहँदा आगलागी भएपछि विद्यार्थीहरूको पाठ्यपुस्तकदेखि सबै शैक्षिक सामग्री जलेर नष्ट भएका छन् ।

परीक्षाको समयमा आगलागी भएपछि समस्यामा परेका विद्यार्थीहरूलाई पठनपाठन र परीक्षा तयारीमा सहज होस् भनेर २७ वटा विद्यालयका प्रधानाध्यापक र रंगेली नगरपालिकाको शिक्षा शाखाका चारजना कर्मचारीले कलम कापी, स्कुल ब्याग लगायतका शैक्षिक सामग्री राहत सहयोग स्वरूप प्रदान गरेका हुन् । 

नगरपालिकाको शिक्षा शाखा प्रमुख रविन्द्रकुमार पण्डितसहित प्रधानाध्यापकहरू अरविन्दकुमार शाह, जय कुमार पाठक, लालबहादुर अधिकारी, केशरबहादुर बानियाँ नारदप्रसाद लुइँटेल लगायतले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

रंगेली नगरपालिकाभित्र चैत २ गतेदेखि वार्षिक परीक्षा सुरु भएको थियो । रंगेली नगरपालिका–३ का वडाध्यक्ष भरत प्रसाईँको रोहबरमा शैक्षिक सामग्री वितरण गरिएको शिक्षा अधिकृत पण्डितले बताए ।

View : 479

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved