Biratnagar, Morang, Nepal
२५ जेठ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

अपर कावेलीको सुरुङ मार्ग ‘ब्रेक–थ्रु’, भौतिक प्रगति ७५ प्रतिशत पुरा

उद्‌घोष संवाददाता
२५ जेठ २०८३, सोमवार

विराटनगर । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकमा निर्माणाधिन अपर (माथिल्लो) कावेली जलविद्युत आयोजना मुख्य सुरुङ (हेडरेस टनेल) खन्ने कार्य सम्पन्न (ब्रेक–थ्रु) भएको छ । 

४ दशमलव ८९ किलोमिटर लामो सुरुङ मार्ग आइतबार ब्रेकथ्रु भएसँगै २८ दशमलव १ मेगावाटको यो आयोजनाको भौतिक प्रगतिले गति लिएको आयोजनाका प्रबन्ध निर्देशक प्रकाश ढुंगानाले बताए । 

‘सुरुङ चुनौतीपूर्ण हिमाली भूगर्भीय क्षेत्रबाट गुज्रिएको छ, जसको एक किलोमिटर कमजोर र जटिल रहेको थियो’ उनले भने, ‘निरन्तरको इन्जिनियरिङ अनुकूलन र बलियो प्राविधिक टोलीले ब्रेक थ्रु गर्न सम्भव भएको छ ।’

उनले मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको जानकारी दिए ।

५ अर्ब ६४ करोडको लागतमा पीस इनर्जी प्रालिले निर्माण गरिरहेको अपर काबेली जलविद्युत आयोजना काबेली खोलामा निर्मित नदी प्रवाहमा आधारित आयोजना हो ।

आयोजनाको हेडवक्र्स र विद्युत गृह निर्माणको काम समेत अघि बढिसकेको जनाइएको छ । यो आयोजना काबेली खोलामा निर्माण गरिएको दोस्रो ठूलो जलविद्युत आयोजना हो । सिरिजङ्घा–१ सिनाममा यसको विद्युत गृह रहेको छ ।

हेडरेस सुरुङमार्फत पानीलाई एक किलोमिटर लामो स्टील पेनस्टक पाइपमार्फत विद्युत गृहमा जडान गरिने दुईवटा फ्रान्सिस टर्बाइनमा पठाएपछि विद्युत उत्पादन हुनेछ ।

उत्पादित विद्युतलाई १५ किलोमिटर लामो सिंगल–सर्किट १३२ केभी प्रसारण लाइन मार्फत पाँचथरस्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेशनमा जोडेर राष्ट्रिय विद्युत प्रसारणमा प्रवाह गरिने छ । 

आयोजनाको सुरुङ खान्ने कार्य दुई बर्ष अघि सुरु गरिएको थियो । यसै बर्ष आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि केही ढिलाइ हुने भएको छ । 

माछापुच्छ्रे बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी र लक्ष्मी सनराइज बैंकले यो आयोजनाका लागि वित्तीय व्यवस्थापनमा सहकार्य गरेका छन् ।

View : 48

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved