विराटनगर । नेपाली कांग्रेसभित्र अवसर वितरणको पुरानै रोग फेरि सतहमा आएको छ, जसलाई धेरै नेता–कार्यकर्ताले ‘मत्स्य न्याय’ को संज्ञा दिन थालेका छन् ।
ठूला नाम, बलियो पहुँच र पारिवारिक विरासत भएकाहरू सहजै अघि बढ्दा दशकौंदेखि पार्टीलाई काँधमा बोक्दै आएका पुराना नेता भने फेरि पनि हेरेको हेरै बन्न बाध्य बनेका छन् ।
यसपटक यस्तो अवस्था झापाका पुराना कांग्रेस नेता सुधीरकुमार शिवाकोटीमाथि दोहोरिएको छ ।
दुईपटक जिल्ला सभापति, संविधानसभा सदस्य, जनआन्दोलनका अगुवा र जेल–यातनासमेत भोगेका शिवाकोटी राष्ट्रियसभा सदस्य बन्ने आशामा थिए ।
केवल व्यक्तिगत चाहनाका आधारमा होइन, कांग्रेस कोशी प्रदेश समितिको औपचारिक सिफारिसको पहिलो नम्बरमै उनको नाम राखिएको थियो ।
कोशी प्रदेश समितिले दलित, महिला र अन्य ‘क्लस्टर’ गरी तीन सिटका लागि १३० भन्दा बढी आकांक्षीको सूची केन्द्रमा पठाएको थियो ।
तीमध्ये अन्य क्लस्टर सबैभन्दा प्रतिस्पर्धी थियो । सोही सूचीको शीर्षमा शिवाकोटी थिए । तर, खेल फेरिने पहिल्यै तय भइसकेको थियो ।
प्रदेशको सिफारिसलाई बेवास्ता गर्दै कांग्रेस केन्द्रले धनकुटाका सुनिलबहादुर थापालाई उम्मेदवार बनायो ।
प्रदेश समितिले शिवाकोटीको नाम एक नम्बरमा राख्दाराख्दै केन्द्रमा भने थापालाई अघि सार्ने निर्णय भइसकेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिलाएर थापालाई राष्ट्रियसभामा पठाउने तयारी पार्टी संस्थापनले पहिल्यै गरिसकेको थियो ।
बुधबार उम्मेदवारी दर्ता हुँदैगर्दा कांग्रेस, एमाले र जसपाबीच चुनावी सहकार्य तय भइसकेको थियो । त्यसपछि कोशी प्रदेशबाट कांग्रेस उम्मेदवारको जित लगभग सुनिश्चित मानिन्थ्यो ।
अन्ततः विपक्षी उम्मेदवार समयमा नआइपुग्दा थापा निर्विरोध निर्वाचित हुने अवस्थामा पुगे । चुनाव नलडीकनै उनको माथिल्लो सदनको यात्रा तय भयो ।
यही समयमा शिवाकोटीले भने सार्वजनिक रूपमा असन्तोष र आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा कांग्रेसका पुराना नेताहरूको तस्वीर राख्दै लामो टिप्पणी लेखेका शिवाकोटीले आफ्नो नाम सिफारिसको पहिलो नम्बरमा हुँदाहुँदै किन काटियो भन्ने प्रश्न उठाएका छन् । उनले विदेशी दबाबमा टिकट वितरण भएको गम्भीर आरोपसमेत लगाएका छन् ।
किन टिकट भएन भनेर प्रश्न गर्दा प्रदेश सभापति उद्धव थापाले ‘सकिएन’ भन्ने जवाफ मात्रै दिएको शिवाकोटीले बताएका छन् ।
अहिले प्रदेश संसदीय दलका नेता उद्धव थापा तिनै नेता हुन्, जसलाई उनै शिवाकोटीले आफू सभापति भएको पहिलो कार्यकालमा जिल्ला सचिव र दोस्रो कार्यकालमा जिल्ला उपसभापति बनाएका थिए ।
पछि बुझ्दै जाँदा बाह्य दबाबका कारण यस्तो निर्णय गरिएको संकेत आफूले पाएको शिवाकोटीको दाबी छ ।
शिवाकोटीको आक्रोश केवल व्यक्तिगत असफलतामा सीमित छैन । उनले नेपालको राजनीति नै बाह्य प्रभाव र शक्तिको खेलमै फँसेको हो कि भन्ने गम्भीर प्रश्न उठाएका छन् । पार्टी, संसद् र सरकार देखाउने दाँत मात्र त होइन भन्ने शंकासहित ।
पार्टीभित्र भने उनको पीडा साझा ठान्ने आवाज पनि कम छैन । कोशी प्रदेश समितिका एक पदाधिकारी भन्छन् ‘उहाँ सुरुमा टिकट खोज्दै हिंड्नु भएको थिएन । जिल्ला र प्रदेश नेताहरूको आग्रहपछि नाम पठाइयो । तर, अन्त्यमा केन्द्रले अर्कै निर्णय गर्यो ।’
नेतृत्वको निर्णयप्रति असन्तुष्टि झापामा मात्र होइन, प्रदेशस्तरमै फैलिएको देखिन्छ ।
एक नेताका शब्दमा, ‘पञ्चायतकालमा सूर्यबहादुरहरूलाई अवसर थियो । बहुदल आयो, फेरि तिनै परिवार अगाडि आए । गणतन्त्र आयो, तर अवसर अझै पनि उनीहरूकै घरमा घुमिरहेको छ ।’
झापा कांग्रेसका युवा नेताहरूले पनि यही गुनासो दोहो¥याएका छन् । उनीहरूका अनुसार राष्ट्रियसभा विज्ञ र अनुभवीहरूको थलो हो, जहाँ शिवाकोटी जस्ता नेता उपयुक्त थिए ।
तर, निर्णय फेरि पनि पहुँच, विरासत र केन्द्रको मनपरीमा आधारित भएको झापाका कांग्रेस कार्यकर्ता रुपसागर अधिकारी बताउँछन् ।
निर्विरोध निर्वाचित हुने निश्चित भएका सुनिलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
उनी २०७७ मा कांग्रेस प्रवेश गरेका थिए । प्रवेशलगत्तै सहमहामन्त्री बनेका थापा २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीसमेत भइसकेका छन् । र, अहिले कांग्रेस केन्द्रीय सदस्य छन् ।
कांग्रेसको यो अभ्यासलाई पार्टीभित्रै धेरैले अब ‘त्यागभन्दा शक्ति र वंशको शासन’ भनेर प्रश्न गर्न थालेका छन् ।
View : 143
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved