विराटनगर । मोरङ व्यापार संघको ३४ औं नवनिर्वाचित कार्यसमिति र मोरङका संचारकर्मीबीच शुक्रबार परिचयात्मक छलफल सम्पन्न भएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष अनुपम राठीको अध्यक्षतामा आयोजित परिचयात्मक कार्यक्रममा अर्थतन्त्रका सवालबारे छलफल समेत गरिएको हो । अध्यक्ष राठीले अर्थतन्त्र खस्कदैँ गएका कारण मानिसभित्रको समवेदना समेत घटेको बताए ।
अहिलेको समयमा समाज र देश कसरी बलियो बनाउने भन्ने विषय मुख्य मुद्दा भएको बताए । उनले विगतझैं ३४ औं कार्यकारिणी समितिले पनि आमसञ्चार क्षेत्रबाट महत्वपूर्ण सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
संघको ७३ वर्षको इतिहासमा आफू ३४ औं अध्यक्ष निर्वाचित भएकोले पूर्व नेतृत्वतहरूसँग समेत उतिकै सहकार्य गरेर अघि बढ्ने बताए ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङकी कार्यवाहक अध्यक्ष तारा आचार्य, पत्रकार चिना थापा लगायतले मोरङ व्यापार संघलाई समावेशी बनाउँदै आर्थिक क्षेत्रका सवालहरूमा सँगै काम गर्न सकिने सुझाव दिएका थिए ।
संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले आर्थिक क्षेत्रका विषयहरूमा धारणा राख्दै विस्तारै महिला नेतृत्वलाई अघि बढाउन सुरु गरिएको जानकारी दिए ।
उनले दैनिक तीन हजारको सङ्ख्यामा युवा जनशक्ति विदेशिने गरेकोमा राज्य गम्भीर नभएको चिन्ता व्यक्त गरे । संघले विगतदेखि नै उठाउँदै आएको बैंकको चर्को व्याज तथा इन्स्योरेन्स कम्पनीहरूले कार्टेलिङविरुद्ध थप आन्दोलन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेश समितिका अध्यक्ष मीन कुमार नवोदित, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइराला, प्रेस मञ्च नेपालका अध्यक्ष मुकेश कुमार यादवसहितका संचारकर्मीहरु, संघको ३४ औं कार्यसमितिका पदाधिकारी, सदस्यहरूको उपस्थिति रहेको थियो । संघका महासचिव सञ्जय कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले उपस्थित सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
View : 200
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved