विगत एक महिनादेखि विद्यार्थी आन्दोलनको नामले बंगलादेश अशान्त भएको थियो । तीन हजार पाँच सय नेपाली विद्यार्थीहरू बंगलादेशमा चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषिशास्त्रलगायत पढ्न छाडेर आफ्नो मातृभूमि नेपाल रातारात फर्केका थिए । आन्दोलनले तीव्र गति लिंदा विद्यार्थीहरू नेपाल फर्केका हुन् ।
बंगलादेशमा अशान्त हुनासाथ नेपाली अभिभावकहरूले आफ्ना नानीबाबुहरुलाई तुरुन्त फिर्ता बोलाएका होलान् । चिकित्सा, इन्जिनियरिङ, कृषि शिक्षामा नेपाली विद्यार्थीहरू बढी रहेता पनि अन्य विषय र विभागमा पनि नेपाली विद्यार्थीहरू बंगलादेशमा अध्ययनरत छन् र त्यहाँ नेपालीहरु विगत लामो समयदेखि अध्ययनमा जाने परम्परा नै थियो । त्यहाँको चिकित्सा शिक्षा राम्रो, सस्तो र सहज भएकै कारण नेपाली विद्यार्थीहरू त्यतातिर जाने गरेका छन् ।
साउन २१ गते सोमबार बांगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आफ्नो पदबाट राजीनामा दिएर भारत निर्वासनमा गइन् । विद्यार्थी आन्दोलन उग्र बन्दै गएपछि थेक्न नसकेर राष्ट्रपति, सैनिक प्रहरी, प्रहरी बललगायत क्षेत्रसँग सरसल्लाह गरेर प्रधानमन्त्री निवास छाडेर बहिनीसित ढाका छाडिन् ।
आखिर किन बंगलादेशमा आन्दोलन चर्कियो ?
इतिहास हेर्दा बंगलादेश सन् १९७१ देखि हालसम्म अशान्त नै देखिन्छ । त्यहाँको राजनीति स्थिर देखिंदैन । भ्रष्टाचारले मौलाएको देश भनेर पनि चिनिन्छ । बंगलादेश झन्डै नेपाल जत्रै छ । बंगलादेशको कुल जमिन १ लाख ४८ हजार ४ सय ६० वर्ग किलोमिटर क्षेत्रफल रहेको छ ६४ जिल्ला र आठवटा प्रशासनिक क्षेत्रमा बंगलादेश देखिन्छ ।
मुख्य शहरहरू ढाका, चटगाउँ, खुलाना, रङपुर, गाँजीपुर नारायणगञ्ज, सेलेटलगायत शहरहरूमा विद्यार्थी आन्दोलन चर्किंदै जाँदा त्यहाँको आवामी लिग नेतृत्व गरेको सरकार ढल्न पुग्यो । बंगलादेशमा पटक–पटक राजनीति अस्थिर हुने गरेको छ । यसभन्दा अघि चारपटकसम्म सैनिकले कु गरेको थियो ।
बेगम खालिदा जिया नेतृत्वको बंगलादेश जातीयतावादी दल प्रमुख विपक्षी दल भएता पनि बंगलादेश संकटलाई समाधान गर्न सकिनन् अन्तत संसद विघटन गरी वर्तमान प्रधानमन्त्री शेख हसिना आफ्नो देशबाट पलायन हुन बाध्य भइन् । जम्मा ३५० प्रतिनिधि सभा सदस्य रहेको बंगलादेशमा ५० वटा सिट महिलाका लागि आरक्षण छन् ।
इतिहास हेर्दा विशाल भारत भित्र बंगलादेश पनि पर्दथ्यो । बंगलादेश सन् १९७१ डिसेम्बर १६ का दिन पाकिस्तानबाट स्वतन्त्र भएको हो । ब्रिटिशले झन्डै झण्डै २०० वर्ष राज गरेको भारत अन्तर्गत पाकिस्तान र बंगलादेश पनि भारत भित्रै थियो । पछि महात्मा गान्धी नेतृत्वको सन् १९२० बाट सुरु भएको भारत त्याग आन्दोलन तथा असहयोग आन्दोलन सन् १९४७ अगस्ट १४ का दिन पाकिस्तान स्वतन्त्र भयो तथा भोलिपल्ट १५ अगस्ट भारत स्वतन्त्र घोषित भयो ।
हिन्दुहरूको नेतृत्व गरेका महात्मा गान्धी र मुसलमानहरूको नेतृत्व गरेका मोहम्मद जिन्ना दुई नेताले ब्रिटिशसँग वार्ता गरेर हिन्दु प्रधान हिन्दुस्थान र इस्लाम प्रधान पाकिस्तान दुई राष्ट्रलाई स्वतन्त्र ब्रिटिश सरकारले घोषणा गरेको थियो । तर पूर्व पाकिस्तान र पश्चिम पाकिस्तान बीचको लडाईंले सन् १९७१ मा पूर्व पाकिस्तान छुट्टिएर बैग्लै देशको रुपमा बंगलादेशको जन्म भयो ।
पूर्व पाकिस्तान र पश्चिम पाकिस्तान बीचको दूरी १६०० किलोमिटर देखिन्छ । बंगलादेशमा सन् १९७२ नोभेम्बर ४ का दिन संविधान जारी भएको हो । त्यहााको जनसंख्या झन्डै झन्डै १७ करोडको हाराहारीमा रहेको छ । जनघनत्व प्रतिवर्ग किलोमिटरमा ११०६ जना देखिन्छ ।
विगत एक महिनादेखि जारी जनविद्रोहमा त्यहाँका जनताले विद्यार्थीलाई साथ दिएका थिए । विद्यार्थीको नामबाट सुरु गरिएको आन्दोलन मूल माग आरक्षण विरुद्धको थियो । सरकार अत्यधिक कडा भएकाले आन्दोलन दबाउन सरकारले हर प्रयास गरेता पनि सुरक्षाकर्मीको गोली लागेर झन्डै ३०० जना विद्यार्थी तथा सर्वसाधारणको ज्यान गएको थियो । प्रहरी, प्रशासन, सैनिक प्रशासनलाई सरकारले जसरी पनि आन्दोलन दबाउन निर्देशन दिएता पनि धेरै जनधनको क्षति हुने देखिएकाले प्रहरी, प्रशासन, सैनिक प्रशासन नरम बन्दै गएको थियो । अझ रमाइलो त पूर्व प्रहरी र पूर्व सेनाका मानिसहरूले दमन नगर्न र सेना र प्रहरी आफ्नो शिविरमा फर्किन अनुरोध गरेका थिए । सो विभिन्न टेलिभिजनका दृश्यहरूमा सहजै देखिन्थ्यो । प्रहरीले अत्यधिक बल प्रयोग गरेको जुन मानव अधिकार विपरीत थियो ।
बंगलादेशको जनविद्रोहबाट दक्षिण एसियाका देशहरूले पनि पाठ सिक्नुपर्ने आवश्यक देखिन्छ । यदि शासकहरु तानाशाह बन्दै जाने भ्रष्टाचार गर्दै जाने सेना, प्रहरी अदालतसम्म आफ्नो कब्जामा राख्ने तथा आफ्ना नातागोतालाई आरक्षणको व्यवस्था गर्ने लगायतका गैर प्रजातान्त्रिक कार्य गरेमा अबका दिनहरूमा जनताले टुलू टुलू हेरेर बस्ने छैनन् भन्ने गतिलो प्रमाण बंगलादेशबाट पाइन्छ । बंगलादेशको जनविद्रोहले सारा संसारलाई चकित बनाएको छ । अझ दक्षिण एशियाका देशहरू त झस्किसकेका छन् । त्यसैले सक्ता, शत्ति भएको बेला आफूले जे पनि गर्दा हुन्छ भन्ने सोच हटाउनुपर्छ भन्ने ज्ञान बंगलादेश सरकारबाट लिन सकिन्छ ।
बङ्गलादेशमा आन्दोलन चलिरहेका बेला झण्डै झण्डै २००० बढी नेपाली विद्यार्थीहरू घर फर्केका थिए । चिकित्सा शिक्षा बंगलादेशमा राम्रो मानिन्छ । त्यसैले नेपाली विद्यार्थीहरू गुणस्तरीय शिक्षा कम खर्चिलो शिक्षा भन्दै बंगलादेशका मेडिकल कलेजहरुमा पढ्नका लागि बर्सेनि जाने गर्दछन् । बंगलादेश मेडिकल कलेज, कुमुदिनी महिला मेडिकल कलेज, इस्टर्न मेडिकल कलेज, इब्राहिम मेडिकल कलेज चटगाउँ मेडिकल कलेज, केन्द्रीय मेडिकल कलेज लगायतका कलेजहरूमा नेपाली विद्यार्थीहरू अध्ययनरत थिए ।
लगातार १५ वर्ष यता बंगलादेशमा शेख हसिना वाजेद नेतृत्वको आवामी लीग सरकारमा थियो । बंगलादेशलाई विकसित राष्ट्र र प्रतिव्यक्ति आय वृद्धि गर्न हसिना सरकारले ठुले कोसिस गरेकी थिइन् । तर सामान्य आरक्षण प्रणाली खारेजको आन्दोलनको नामले बंगलादेशमा ठूलो जनविद्रोह देखियो । त्यसको फल सरकार ढल्यो सत्ता सेनाको हातमा गयो ।
कहिलेकाहीं सानै विषयले पनि उग्र रुप लिएर ठूलो विषय बन्न सक्दछ भन्ने गतिलो प्रमाण बंगलादेशबाट देखियो । आन्दोलनको नेतृत्व विद्यार्थीले गरेता पनि त्यहाँका जनता सबै ढाका गए अनि आन्दोलनमा सहभागी भएर सत्ता नै परिवर्तन गरिदिए । यसैलाई भनिन्छ जनता जनार्दन, जनता मालिक, जनता ईश्वर, जनता सर्वेसर्वा ।
View : 317
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved