विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले जेठको दोस्रो साताभित्र विषयत समितिहरुको सभापति चयन नभए निर्वाचनबाट चयन गर्न समय तोकिने बताएका छन् । बिहीबार संसदीय मामिलासम्बद्ध पत्रकारहरुसंगको कुराकानीमा सभामुख बिष्टले आफुले सवै दलहरुसँगको सल्लाहमा जेठको दोस्रो साताभित्र सभापतिहरु चयन गर्न लागेको जानकारी दिए ।
मिनी संसद मानिने विषयगत समितिको सभापति चयन नहुँदा ज्येष्ठ सदस्यहरुले समितिको सभापतित्व गर्दै आएका छन् । प्रदेश सभाको दोस्रो कार्यकालको १० महिनापछि कोशी प्रदेश सभाका सातवटा विषयगत समितिहरुको टुंगो लागेको थियो ।
२०८० कात्तिक २२ मा बसेको प्रदेश सभाको बैठकमा उपसभामुख सृजना दनुवारले सातवटा विषयगत समितिहरुमा रहने सदस्यहरुको नाम घोषणा गरेकी थिइन् । कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम १३३ बमोजिम विषयगत समितिहरु बनेका थिए । तर त्यसपछि सभापति चयनको प्रक्रिया अघि नबढ्दा समितिहरुले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् ।
‘सवैको सल्लाहले जेठ दोस्रो हस्तामा समितिका सभापतिहरु चयन हुन्छन्’ सभामुख बिष्टले भने, ‘त्यतिबेला पनि भएन भने निर्वाचनको समय तोक्छौं, त्यहिबाट छिनोफानो गर्छौं ।’
प्रदेश सभा नियमावलीको नियम १३० मा समिति गठन गर्न सकिने उल्लेख छ । नियम १३४ मा सभापतिको निर्वाचनसम्बन्धि व्यवस्था उल्लेख छ । उक्त नियममा प्रत्येक समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने व्यवस्था छ । त्यसको सूचना प्रदेश सभाका सचिवले कम्तीमा ४८ घण्टा अगावै सबै प्रमुख सचेतक र समितिका सदस्यहरुलाई जानकारी गराउने नियममा उल्लेख छ ।
सहमतिमा होस् या निर्वाचनबाट, सभामुखलाई नै सभापति चयनको प्रक्रिया अघि बढाउने अधिकार भएका कारण सभामुख बिष्टले त्यसका लागि सक्रियता बढाएका हुन् । सभामुख बिष्टले अहिले ज्येष्ठ सदस्यहरुले पनि समितिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए ।
सरकारको स्थायित्व हुन नसक्दा पनि विगतमा विषयगत समितिका सभापतिहरु चयन गर्न अप्ठेरो भएको हुनसक्ने उनले बताए । सभामुखमा निर्वाचित हुनुअघि बिष्टसमेत ज्येष्टताका आधारमा न्याय प्रशासन तथा विधायन समितिका सभापति थिए ।
अर्को प्रसंगमा सभामुख बिष्टले प्रदेशसभा मिडियामैत्री भएको बताए । मिडियाहरुबाट पनि प्रदेशसभामैत्री व्यवहारको अपेक्षा राखेको बताए । उनले प्रदेश सभा र विषयगत समितिहरुमा हुने बैठक, सचिवालयका नियमित कार्यक्रम र गतिविधिहरु, प्रदेश सभाका पदाधिकारीहरुले गरेका राम्रा कामहरुको प्रचार प्रसार हुनु आवश्यक रहेको बताएका थिए ।
भेटघाट कार्यक्रममा प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले संसदीय पत्रकारहरुको क्षमता विकासका लागि सचिवालयमार्फत आवश्यक सहयोगमा थप सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
View : 194
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved