Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले महानगरको चियापान, बोलाइएनन् अन्य दलका समकक्षी नेता

उद्‌घोष सम्वाददाता
२० असोज २०८१, आइतवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको आयोजनामा शनिबार चियापान कार्यक्रम गरिएको छ । चाडपर्वको सम्मुखमा एमाले महानगर कमिटीले शुभकामना आदान–प्रदान तथा चियाफान कार्यक्रम गरेको हो ।

महानगर संगठन कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा आयोजित कार्यत्रममा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीको नीति र नेतृत्वविरुद्ध आक्रमण भइरहेको बताए ।

उनले नीति र नेतृत्वको रक्षाका लागि एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरू लाग्नुपर्ने बताए । राईले पार्टी बलियो भए मात्रै मुलुकले राजनीतिक निकास पाउने बताउँदै नेता कार्यकर्ताको सकारात्मक ऊर्जा आवश्यक रहेको बताए ।

एमाले केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले कुनै समय जननेता मदन भण्डारीले नेतृत्व गरेको विराटनगरको पार्टी कमिटीले अहिले नयाँ नेतृत्व पाएको र विराटनगरमा पार्टीलाई सफल वर्तमान कमिटीले काम गर्नुपर्ने सुझाव दिए ।

उनले चाडपर्वले सञ्चार गर्ने सकारात्मक ऊर्जा बोकेर महानगर कमिटीले सामाजिक मुद्दा उठान गर्नुपर्ने बताए ।

कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले महानगर कमिटीको नेतृत्वले विराटनगरलाई लालकिल्ला बनाउने पार्टी संगठनको काम गर्नुपर्ने बताए ।

मोरङ जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले पार्टीको ‘मिसन ८४’ अभियानको लक्ष्य पूरा हुने गरी काम गर्न वर्तमान नेतृत्वलाई आग्रह गरे । त्यसका लागि सबैजना एकजुट हुनुपर्ने उनले बताए ।

महानगर कमिटी इञ्चार्ज पर्शुराम बस्नेतले एमालेमा नेताको पछि भन्दा पार्टी नीतिको पछि लाग्नुपर्ने बताए । 

महानगर कमिटी अध्यक्ष कोइरालाले माथिल्लो कमिटीको नीति र निर्देशनअनुसार महानगर कमिटी अघि बढ्ने बताए । उनले कमिटीले पूर्णता पाएर पार्टीको काममा अघि बढेको जानकारी दिए । 

एमालेका नेता कार्यकर्ताहरूको मात्रै सहभागिता देखिएको उक्त चियापानमा अन्य राजनीतिक दलका महानगर स्तरका कमिटीका नेता कार्यकर्ताहरू कसैलाई पनि निम्तो थिएन ।

राजनीतिक दलहरुबीच चियापान लगायतका सार्वजनिक कार्यक्रम गर्दा अरु पार्टीका समकक्षी संगठनहरुलाई समेत बोलाउने प्रचलन संस्कारकै रुपमा रहँदै आएको छ । 

रोहित कोइराला नेतृत्वको वर्तमान कमिटी इतरका सागर थापा लगायतका प्रमुख नेता कार्यकर्ताहरू समेत चियापानमा अनुपस्थित रहे । थापालाई आसन ग्रहणका लागि भने सचिव नविन गिरीले डायसमा बोलाएका थिए ।

View : 158

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved