एसबीएससीले विराटनगरमा आयोजना गरेको चित्रकला प्रतियोगितामा सिनियर तथा जुनियर समूहतर्फ प्रथम,दोस्रो र तेस्रो हुने विद्यार्थीहरू । तस्वीर : नवीन कर्ण/उद्घोष
विराटनगर । विराटनगरमा आयोजना गरिएको जिल्लास्तरीय चित्रकला प्रतियोगिताको कनिष्ठतर्फको उपाधि पथरीको एभरेष्ट सेकेण्डरी स्कुल र वरिष्ठतर्फको उपाधि रंगेलीको माउण्ट मकालु माध्यमिक विद्यालयले जितेका छन् ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड (एसबीएससी) को आयोजनामा शनिवार भएको १३ औं संस्करणको जिल्लास्तरीय प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको कनिष्ठतर्फ पथरी एभरेष्टकी विद्यार्थी आभा केरुङले बनाएको चित्र प्रथम र रंगेली माउण्ट मकालुकी विद्यार्थी गरिमा विश्वासले बनाएको चित्र कक्षा ६ देखि १९ सम्मको वरिष्ठतर्फबाट प्रथम स्थानमा छनोट हुन सफल भएका छन् ।
यसैगरि जुनियरतर्फ विराटनगरको भगवती विद्या मन्दिरका विद्यार्थी आयुष तामाङ दोस्रो र ग्रेडेड सेकेण्डरी स्कुलकी सालिन्ता सुवालले तेस्रो स्थान हासिल गरेकी छन् ।
यस्तै वरिष्ठतर्फ रंगेलीको माउण्ट मकालु माविका चञ्चल मण्डल दोस्रो र सुन्दरहरैंचाको सिद्धार्थ माविका विद्यार्थी आर्जन बस्नेत तेस्रो भएका छन् ।
प्रतियोगितामा कनिष्ठतर्फ सान्त्वना स्थान हासिल गर्ने पाँच विद्यालयमा सुन्दरहरैंचाको सुबिजिमुर मावि, विराटनगरकै पोलस्टार मावि र भगवती विद्या मन्दिर छन् ।
वरिष्ठतर्फको सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरुमा विराटनगरको पूर्वाञ्चल विद्या सदन, मोडर्न एरा मावि, पूर्वाञ्चल विद्या सदन र बूढानीलकण्ठ मावि छन् ।
प्रतियोगितामा मोरङ जिल्लाका ४६ वटा संस्थागत विद्यालयलका १ सय १९ विद्यार्थीले सहभागिता जनाएको संस्थाका सचिव गोपालप्रसाद रिजालले जानकारी दिए । आयोजक समितिले कनिष्ठ (जुनियर) र वरिष्ठ (सिनियर) समूह विभाजन गरि प्रतिस्पर्धा गराएको थियो ।
प्रतियोगितामा विजयी हुने प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारसहित पदक र कप प्रदान गरिएको छ भने सान्त्वना स्थान हासिल गर्ने दुवै समूहका १० जनालाई नगद १ हजारसहित पदक प्रदान गरिएको छ ।
विजयीहरुलाई आयोजक संस्थाका अध्यक्ष नगेन्द्रप्रसाद ढकाल,प्याब्सन कोशी प्रदेश कोषाध्यक्ष प्रेमलालसिंह सुवाल, मोरङ प्याब्सनका बरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, शैक्षिक अभियन्ता भक्तराज सुब्बा र प्याब्सन मोरङका उपाध्यक्ष बिष्णु डंगोल लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा ललीतकला केन्द्रका कलाकारद्वय निवास पोखरेल र प्रणोद दत्तले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
View : 85
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved