त्रिकोणात्मक ट्वान्टी २० शृङ्खला
विराटनगर । करण केसीको डेथ ओभर बलिङको मद्दतमा नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ । अन्तिम ओभरमा बलिङको जिम्मेवारी सम्हालेका केसीको उत्कृष्ट बलिङले नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको हो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनायो ।
नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन बनाएर पेभिलियन फर्किए । जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, रुबेन ट्रम्पलम्यान १४, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३ तथा जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए । जेन ग्रीन भने २३ रनमा अविजित रहे ।
नामिबियालाई धरासायी बनाउन नेपालका दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेटको योगदान गरे । अभिनास बोहराले एक विकेट लिएका थिए ।
अन्तिम ओभरमा संघर्षपूर्ण खेलेको नामिबियाले करणको बलिङलाई चुनौतिपूर्ण रुपमा सामना गर्नुपरेको थियो । अन्तिम ओभरमा नामिबियालाई १२ रन चाहिएपनि करणले ८ रन मात्रै खर्चिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतकको मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै नामिबियालाई १८० रन लक्ष्य छाडिदिएको थियो ।
कुशलले चार छक्कासहित ५५ रनमा नट आउट खेलेका थिए । ७ औं ओभरमा ४ विकेट गुमाइसकेर दवावमा परेको नेपाललाई कुशलले नै उकासेका थिए ।
नेपालका लागि आरिफ शेखले ३१ रन बनाए । त्यस्तै गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रन जोडेका थिए ।
नेपालका ब्याटिङमाथि नामिबियाका बेन शिकोंगोको ३ विकेट पिडादायी बनेको थियो । त्यस्तै ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एक–एक विकेट लिएका थिए ।
View : 241
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved