Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

लेटाङ बजारमा पोके व्यापारीलाई प्रवेश निषेध गर्न माग

उद्‌घोष सम्वाददाता
८ असोज २०८१, मङ्गलवार

विराटनगर । चाडपर्वको मुखमा गुणस्तरहिन उपभोग्य सामान वस्तु बिक्रीका लागि लिएर आउने पोके व्यापारीहरूलाई प्रवेश निषेध गर्न लेटाङ बजारका अगुवा व्यवसायीहरुले माग गरेका छन् । उनीहरुले बजार क्षेत्रका समस्याहरूबारे नगरपालिकाका मेयर भुपेन्द्र लावतीको ध्यानाकर्षणसमेत गराएका छन् । 

लेटाङ उद्योग बाणिज्य संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठसहित पूर्व अध्यक्षहरु ओमप्रकाश श्रेष्ठ, देवेन्द्र श्रेष्ठलगायत व्यवसायीहरुले मेयर लावतीलाई भेटेर लेटाङको खस्किदो व्यापार, बजार व्यवस्थापन र नजिकिंदो चाडपर्वमा आउने पोके व्यापारीको चुनौतिबारे छलफल गरेका हुन् । उनीहरुले लेटाङ बजारमा शान्ति सुरक्षाका लागि अझ बलियो व्यवस्था गर्न आग्रह गरेका हुन् । 

व्यवसायीहरुले लेटाङ बजार क्षेत्रमा पार्किङ क्षेत्रको व्यवस्थापन, मोटरसाइकलको गति नियन्त्रण र कर प्रणालीमा दर्ता भएका व्यापारीहरुको व्यवसाय प्रवर्द्धन गर्न माग गरेका छन् ।

संघका पदाधिकारीहरुले लेटाङमा उद्योगधन्दा स्थापनाका लागि करिडोर क्षेत्रको व्यवस्थापन र प्राकृतिक सौन्दर्यका लागि उत्तम गन्तव्यहरूको थप प्रवर्द्धन गर्न पनि नगरपालिकासँग आग्रह गरिएको संघका पूर्व अध्यक्ष ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।

व्यापारीहरूको समस्या सुनेपछि मेयर लावतीले लेटाङको व्यापार व्यवसाय प्रवर्द्धनका लागि नगरपालिकाले तालिम गोष्ठीको आयोजना गर्ने जानकारी दिए । उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न बाणिज्य संघसँगको सहकार्यमा लेटाङमा चाँडै खाद्य महोत्सवको आयोजना गरी लेटाङ बजारको आर्थिक गतिविधिलाई अझ चलायमान बनाउने आश्वासन दिए । 

उक्त अवसरमा लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी पोखरेल, नगरका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष भुमसूर्य मगर, संघका महासचिव नेत्रप्रसाद निरौला लगायतको उपस्थिति  थियो । 

यसैबीच लेटाङ उद्योग वाणिज्य संघको आयोजना र नेपाल गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको सहकार्यमा सोमबार लेटाङ बजारका दर्तावाला व्यवसायहरुको ढक र काँटा निरीक्षण कार्य समेत सम्पन्न गरेको अध्यक्ष खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।

View : 209

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved