विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, व्यवस्थापन क्याम्पस (पुसोम) विराटनगरमा स्नातक तह अन्तर्गत व्यावसायिक अध्ययन (बीबीए) अन्तिम सेमेस्टारका विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान तथा बिदाइ गरिएको छ ।
बीबीए आठौं सेमेस्टरको परीक्षा दिएका १२० जना विद्यार्थीहरूलाई सातौं सेमेस्टरका विद्यार्थीहरूले बिदाइ गरेका हुन् ।
पुसोमका क्याम्पस प्रमुख एवं बीबीए र एमबीए कार्यक्रमका निर्देशक डा. रमाकान्त दासको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पूवि विद्यावारिधि तथा दर्शनाचार्य समितिका निर्देशक प्रमुख अतिथि प्राडा. जीवनकुमार ढकाल थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकाल र सभापति डा. दासले बिदा भई जाने विद्यार्थीहरूलाई व्यावसायिक जीवनको सफलताका लागि शुभकामना दिंदै क्याम्पसमा सिकेका सीप र संस्कारलाई कार्यक्षेत्रमा उतार्न आग्रह गरे । बिदाइको क्षणमा विद्यार्थीहरू गुरुहरूको आशीर्वचनबाट प्रभावित र भावुक देखिएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न आकर्षक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू दिएका थिए । समारोहमा क्याम्पसका प्राध्यापकहरू डा. संझना प्रधान, दिनेशराज सुवेदी, निवर्तमान प्रमुख प्रशान्त कुमार लाल, विश्वविद्यालयका परीक्षा सह–नियन्त्रक ईश्वर भण्डारी र सुष्मा खरेलले विद्यार्थीहरूलाई सुखद भविष्यको शुभकामना दिए ।
त्यसैगरी प्रशासन प्रमुख गुणराज दहाल, लेखा प्रमुख विश्वराज सापकोटा र दुर्गा बञ्जारा लगायतले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे । कार्यक्रममा विद्यार्थी, प्राध्यापक र कर्मचारी गरी करिब २५० जनाको उत्साहजनक सहभागिता थियो ।
View : 228
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved