विराटनगर । मंगलबार विराटनगरमा आयोजित पालिका सभापतिहरूको भेला रोक्नका लागि संस्थापन पक्षले चर्को दवाव दिएपनि शेखर कोइराला पक्षले भेलालाई भव्य रुपमा सम्पन्न गरेको छ ।
भेला प्रशिक्षणको बैधानिकता नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत संस्थापनले पत्राचार गरेपछि भेलामा सहभागी हुने कि नहुने भन्ने बिषयले विराटनगर हिंडेका पालिका सभापतिसहितका नेता कार्यकर्ताहरू नै अन्योलमा परेका थिए । त्यसका वावजुद भेला सम्पन्न भएको नेताहरूले बताए ।
मोरङका १७ वटा स्थानीय पालिका समितिको नेतृत्व गर्दै विराटनगर महानगर समितिका सभापति दीपक चापागाँईको अध्यक्षतामा विराटनगरकै जैन भवनमा पालिका सभापतिहरूको प्रशिक्षणात्मक भेला सम्पन्न भएको हो ।
विराटनगरमा सम्पन्न भेलामा कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये ११३ वटा पालिकाका सभापतिहरूको सहभागिता र समर्थन रहेको नेता शेखर कोइरालाले दाबी गरे ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस पार्टी राजनीतिक रुपमा बरालिएको भन्दै पार्टीलाई सही बाटोमा हिंडाउनका लागि पालिकासम्मै परिचालन हुन निर्देशन दिए ।
‘यो भेलाले गर्दा कसैले शंका गर्नुपर्ने, आत्तिनुपर्ने, डराउनु पर्ने काम छैन । धाकधम्कीबाट नडराइकन घर फर्किनुस्, तपाँईहरूको संरक्षण म गर्छु’ नेता कोइरालाले भने, ‘अहिले कांग्रेस बरालिएको छ, मैले यो भेलामा गुटगुट नभनिकन तपाँईहरूलाई बोलाएको हो, केही नेताहरु आउनु भएन, अब तपाँईहरूले यो भेलाको कुरालाई पालिकामै लगेर अबलम्बन गर्नुहोस् ।’
उनले पार्टीका विभिन्न भातृ संगठनको अधिवेशन हुन नसकेको भन्दै नेतृत्वलाई खबरदारी गर्न सहभागी नेता कार्यकर्ताहरूलाई आग्रह गरे । कोइरालाले १५ औं महाधिवेशन आगामी बर्ष विधान अनुसार नै हुनुपर्ने भएकोले अधिवेशन र महाधिवेशन हुन नसके नेतृत्वलाई प्रश्न गर्ने गरी पालिकादेखि नै तयार रहन समेत निर्देशन दिए । अहिले क्रियाशील सदस्यता वितरण र नवीकरण हुन नसकेका कारण पार्टी नेतृत्वले समयमा महाधिवेशन नगर्ने आशंकासमेत उनले व्यक्त गरे ।
‘अधिवेशन किन नगरेको भनेर गाउँमै भन्न सक्नुपर्छ, अहिले क्रियाशीलको कुराले समयमा अधिवेशन हुने अवस्था छैन भन्ने कुरामा ध्यान दिनुहोला’ कोइरालाले भने, ‘जति महाधिवेशन लम्बिंदै जान्छ, त्यति कांग्रेस कमजोर बन्दै जान्छ, सवैले समयमा गरौं भन्नुपर्छ ।’
नेता कोइरालाले पनि पार्टीको केन्द्रीय कार्यालयले पत्र पठाएर प्रशिक्षण भेला रोक्न दवाव दिएको स्वीकार गरे । तर उनले पार्टीको विधान अनुसार गर्नुपर्ने पार्टीका नियमित सम्मेलन र भेला हुन नसकेपछि पालिका सभापतिहरूकै आग्रहमा धेरै पहिले नै यो कार्यक्रम तय गरिएको प्रष्टिकरण दिए । उनले भेलाबाट पालिकाका सभापतिहरूको अधिकारलाई स्थापित गरिएको दाबी गरे ।
View : 72
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved