अत्यधिक गर्मीको प्रभाव :
विराटनगर । एकसाता यताको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै मोरङका केही स्थानीय तहले मंगलबार र बुधबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
रंगेली नगरपालिका र ग्रामथान गाउँपालिकाले अत्यधिक गर्मीको कारण देखाएर आफ्नो पालिका भित्रका विद्यालय बन्द रहने जनाएको छ ।
रंगेली नगरपालिकाका नगर शिक्षा अधिकृत रविन्द्र कुमार पण्डितले पालिका भित्रका सबै विद्यालय मंगलबार र बुधबार बिदा गरिएको बताए ।
उनले केही दिनदेखिको प्रतिकूल मौसमका कारण अत्याधिक गर्मी बढेर विद्यालयमा पठनपाठन सञ्चालन गर्न समस्या भएकोले सञ्चित बिदाबाट कट्टा हुने दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको बताए ।
ग्रामथान गाउँपालिकाले पनि आफ्नो पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू मंगलबार एक दिन बन्द गरिएको सूचना निकालेको छ ।
अत्याधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीको आवागमन तथा पठनपाठनमा समस्या भएको तथा विद्यार्थीहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या समेत सिर्जना भएको जनाइएको छ । जसका कारण विद्यालय सञ्चालन गर्न कठिन भएको भन्ने गुनासोलाई मध्यनजर गर्दै मंगलबार एक दिन विद्यालय बिदा गरिएको जनाइएको छ ।
जहदा गाउँपालिकाले पनि मंगलबार एक दिनका लागि विद्यालय बन्द गरेको छ । प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार भण्डारीले अत्याधिक गर्मीले गर्दा विद्यालयको पठनपाठन प्रभावित भएकोले बिदा दिइएको बताए ।
विराटनगर महानगरपालिकाभित्रका केही विद्यालयले भने आन्तरिक रुपमा मंगलबार विद्यालय बन्द गर्ने तयारी गरेका छन् ।
मौसम सम्बन्धि जानकारी दिने निकायहरूका अनुसार विराटनगरमा सोमबारको तापक्रम ३८ डिग्री पुगेको छ । दैनिक चर्को घाम लागेका कारण अत्याधिक गर्मी बढेको जनाइएको छ ।
View : 345
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved