Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

जहदाले निकाल्यो २० कर्मचारी र आठ शिक्षक

उद्‌घोष संवाददाता
२५ कार्तिक २०८२, मङ्गलवार

विराटनगर । मोरङको जहदा गाउँपालिकाले जेनजी सरकारको निर्णय कार्यान्वयन गर्न २० कर्मचारी र आठ शिक्षकलाई जागिरबाट हटाएको छ । उनीहरू करार र ज्यालादारीमा कार्यरत थिए ।

सरकारले गरेको दरबन्दीबाहेकका कर्मचारी हटाउन निर्देशन गरेपछि सोको कार्यान्वयन गर्ने सम्भवत नेपालमै पहिलो पालिका जहदा भएको छ । 

निकालिएका कर्मचारी र शिक्षक अधिकांश सोर्स र यसअघिको कार्यपालिकाका जनप्रतिनिधिका आफन्त थिए । पालिकाले कात्तिक १३ मा यस्तो निर्णय गरेको थियो ।

वर्तमान सरकारको मन्त्रिपरिषदको असोज ५ गतेको निर्णयपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ गतेको निर्देशनअनुसार कर्मचारी र शिक्षक हटाइएको प्रमुख प्रशासकीय अधिकृत रोशनकुमार गुप्ताले बताए । 

दरबन्दी बाहेकका अस्थायी र करार सेवाको सम्झौता कात्तिक १५ गतेदेखिनै रद्द भएको पालिकाले जनाएको छ ।

यसरी जागिरबाट निकालिएकाहरूमा पाँचौ तहका रोजगार सहायक एक, सहायक इन्जिनियर दुई जना छन् । चौथो तहका नायव पशु सेवा प्राबिधिक एक र नायव प्राबिधिक सहायक एक, सामाजिक परिचालक पाँच, सीबीआर सहजकर्ता तीन र अपाङ्गता सहजकर्ता एक जना छन् । 

कार्यालय सहयोगी पाँच र स्विपर एक जनाको पनि सम्झौता रद्द गरिएको गुुप्ताले जानकारी दिए ।

यस्तै विद्यालयहरूले मासिक १५ हजार रुपैयाँ पारिश्रमिक दिएर राखेका आठ विद्यालयका आठ जना शिक्षकको पनि सम्झौता रद्द भएको पालिकाको शिक्षा शाखा प्रमुख दिपक खनालले बताए । अर्थ मन्त्रालयको निर्देशनअनुसार पालिकाले कार्यान्वयन गरेको खनालको भनाइ छ । जेनजी आन्दोलनमा आगजनी गरेर क्षति पुर्याइएको जहदा बन्दै गरेको नयाँ प्रशासनिक भवनबाट सेवा दिदै आएको छ ।

अध्यक्ष जितेन्द्रप्रसाद साहका अनुसार आन्दोलनका क्रममा पालिकामा राखिएका दुई वटा गाडी, भवन, महत्वपूर्ण कागजात जलाइएको थियो । सकेसम्म सबैको माग सम्बोधन गर्दै आए पनि अराजक ब्यक्तिहरूले आगजनी गरेकाले आफूहरू सुविधाविहीन अवस्थामा सेवा दिन बसेको उनले बताए । नयाँ भवन बन्ने क्रममा रहेकाले जनप्रतिनिधि र सेवाग्राहीलाई असहज हुने गरेको छ ।

View : 329

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved