Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

खतिवडाको ‘ढुङ्गो फुलेपछि’ मुक्तक संग्रह विमोचित

उद्‌घोष संवाददाता
२६ कार्तिक २०८२, बुधवार

Advertisement

विराटनगर । झोराहाटका कवि नेत्रप्रसाद खतिवडाको मुक्तक संग्रह ’ढुङ्गो फुलेपछि’ विमोचन गरिएको छ । मंगलबार विराटनगरस्थित विष्णुमाया पुस्तकालयमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रमका कवि तथा साहित्यकार प्राज्ञ विवश पोखरेल, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, बलराम पोखरेल, गायत्रीकुमार चापागाईं, प्रा कविराज न्यौपाने लगायतले कृतिको लोकार्पंण गरेका थिए । 

विमोचनपश्चात् साहित्यकारहरू भूषण ढुङ्गेल र उमेश लुइ“टेलले कृतिमाथि समीक्षा गरका थिए । समालोचक उमेश लुइँटेलले ‘ढुङ्गो फुल्नु’ लाई प्रगतिको सङ्केत र नयाँ परिवर्तनको आशाको रूपमा बुझेको बताए ।
कवि गायत्रीकुमार चापागाईंले खतिवडाका मुक्तकमा प्राकृतिक बिम्ब, ऐतिहासिक तथ्य र भौगोलिक उपमाको समुचित प्रयोगले कृति सशक्त बनेको धारणा राखे ।

कविका मुक्तकहरूमा प्रेमका मिलन, विछोड, आशा, निराशा, देशको वर्तमान राजनीतिक र सामाजिक–आर्थिक परिवेशका साथै वैदेशिक रोजगारमा गएका युवाहरूको भोगाइलाई ऐनाजस्तै छर्लङ्ग पारिएको छ । कृतिमा कर्मचारीतन्त्रमा हुने ढिलासुस्ती, न्याय प्रणालीको अदूरदर्शिता तथा वर्तमान राजनीतिको बारेमा तिखो प्रहार गरिएको छ ।

कवि खतिवडाले पुस्तकमा अपहेलित र निमुखा वर्गप्रति शासकहरूले बेवास्ता गरे तापनि यस्ता पात्रहरूको पनि दिन आउनेमा आफू निकै आशावादी रहेको जानकारी दिए ।

लामो समयदेखि नेपालको निजामती सेवामा कार्यरत कवि खतिवडाले निकट भविष्यमै कविता सङ्ग्रह पनि पाठकमाझ ल्याउने बताएका छन् । कार्यक्रममा साहित्यकारहरू सरला चापागाईं, लोचन रिजाल, हरिप्रसाद बराल, भक्ति दाहाल र शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख सुरेन्द्रकुमार साहलगायतको उपस्थिति थियो ।


 

View : 600

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved