Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

नोना कोइरालाको १९औं स्मृति दिवस

उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेतृ नोना कोइरालाको १९औं स्मृति दिवस विराटनगरमा विविध कार्यक्रमका साथ मनाइएको छ । 

विराटनगर–४ स्थित नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रजातन्त्र स्थापना र महिला अधिकारको सुदृढीकरणमा कोइरालाले पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले निरंकुशताविरुद्धको आन्दोलनमा नोना कोइरालाले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै उनको योगदान नेपाली प्रजातान्त्रिक इतिहासमा अविस्मरणीय रहेको बताए । 

उनले लोकतन्त्र स्थापनाका लागि भएको संघर्षमा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्न कोइरालाले देखाएको साहस र नेतृत्व आज पनि प्रेरणाको स्रोत बनेको उल्लेख गरे । 

कार्यक्रममा प्रतिष्ठानका कार्यबाहक अध्यक्ष ज्योति आचार्यले नोना कोइरालालाई साहस, निष्ठा र संघर्षको पर्यायका रूपमा चित्रित गरे । 

उनले कठिन राजनीतिक परिस्थितिमा समेत कोइरालाले विचलित नभई प्रजातन्त्र र महिला सशक्तीकरणका पक्षमा आवाज उठाएको स्मरण गरे ।

कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष महेश सोनी, नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष तथा प्रतिष्ठानका कार्यसमिति सदस्य डिकप्रसाद घिमिरे, एलिजा दाहाल, अग्रज पत्रकार तथा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितलगायतले स्वर्गीय कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए । 

उनीहरूले प्रजातान्त्रिक मूल्य–मान्यताको संरक्षण र संस्थागत विकासका लागि कोइरालाले देखाएको मार्गदर्शन आजको परिवेशमा अझ सान्दर्भिक बनेको धारणा राखेका थिए ।

View : 213

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved