Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बुढानिलकण्ठमा दुई दिने ‘फन फेस्टा’

उद्‌घोष संवाददाता
१ फागुन २०८२, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिका–२ स्थित बुढानिलकण्ठ इङ्लिस बोर्डिङ स्कुल मा शुक्रबारदेखि दुई दिने फन फेस्टा सुरु भएको छ ।

फन फेस्टामा विद्यार्थीहरूले आफैंले तयार पारेका हस्तकलाका सामग्री, विज्ञानका प्रदर्शनी, खाद्य स्टल, फेस पेन्टिङ र गेम जोनमा रमाउनेहरूको घुइँचो लागेको थियो ।

शुक्रबार कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका छन् भने शनिबार कक्षा १० सम्मका विद्यार्थीहरूले फन फेस्टाको मजा लिनेछन् ।

सोही अवसरमा विद्यार्थीहरूले राष्ट्रियता झल्काउने विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका छन् । त्यस्तै, उनीहरूले अभिभावकहरू र आगन्तुक अतिथिहरूका सामु विभिन्न सांस्कृतिक गीत–संगीत प्रस्तुत गरेर मनोरञ्जन गरेका छन् ।

विद्यालयले नियमित अध्यापनका अलावा विद्यार्थीहरूलाई क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका लागि फन फेस्टा आयोजना गरेको प्रिन्सिपल मणिराज भट्टराईले बताए । उनले फन फेस्टामा विद्यार्थीहरूले आफैंले दर्जनभन्दा बढी स्टलहरू बनाएको जानकारी दिए ।

साथै, साना विद्यार्थीहरूले समेत स्टेज प्रस्तुति, स्टल प्रस्तुति, गेम जोन र खानाका स्टलमार्फत आफूलाई क्षमतावान सिद्ध गर्न प्रेरणा पाएका छन् । विद्यालयले गुणस्तरीय र सुविधासम्पन्न पूर्वाधारबाट शिक्षा प्रदान गर्दै विद्यार्थीकेन्द्रित अतिरिक्त क्रियाकलापलाई पनि अघि बढाउँदै आएको उनले बताए ।

विद्यालयले आधुनिक कम्प्युटर ल्याब स्थापना गरी समयअनुसारको आधुनिक शिक्षा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ मोरङ का प्रमुख शालिग्राम दाहालले यस्ता कार्यक्रमबाट विद्यार्थीलाई व्यावहारिक ज्ञान प्राप्त हुने बताए । उनले पाठ्यक्रमका उद्देश्यहरूलाई यस्ता कार्यक्रमले व्यवहारिक रूपमा पूरा गर्ने उल्लेख गरे ।

दाहालले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए ।

बुढानिलकण्ठ स्कुलमा एक हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका अध्यक्ष बुद्धि प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा हिसान र प्याब्सन मोरङका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

फन फेस्टाबाट विद्यार्थीलाई पुग्ने फाइदा :

– आफ्नै सिर्जनशीलता र प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त हुने ।
– विज्ञान र हस्तकलामार्फत व्यावहारिक सिकाइ हुने ।
– समूहमा काम गर्ने बानी र सहकार्यको विकास हुने ।
– आत्मविश्वास र प्रस्तुतीकरण क्षमता बढ्ने ।
– उद्यम र व्यवस्थापनको अनुभव प्राप्त हुने ।
– अभिभावकसँग प्रत्यक्ष सहभागिताबाट उत्साह र प्रेरणा बढ्ने ।

View : 99

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved