Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

समयले पर्खिएन, गुम्यो राष्ट्रियसभाको टिकट

उद्‌घोष संवाददाता
२४ पुष २०८२, बिहिवार

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार तय गरिएको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम कोशी प्रदेशमा अपेक्षाकै बीच एक रोचक मोड लियो । 

समयमै निर्णय र समयमै यात्रा—यी दुईमध्ये एउटै चुक्दा, संखुवासभाका नेकपाका नेता हेमराज घिमिरेको राष्ट्रियसभा पुग्ने ढोका बन्द हुन पुग्यो । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कोशी प्रदेशको अन्य क्लस्टरबाट उम्मेदवार बनाउने निर्णय गरेका घिमिरे निर्धारित समयभित्र विराटनगर आइपुग्न सकेनन् । 

बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको मनोनयन दर्ता समय सकिदासम्म उनी धरानमै थिए । 

नतिजा—कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापाको एकल उम्मेदवारी प¥योे र उनी निर्विरोध राष्ट्रियसभा सदस्य बन्ने पक्का भयो । 

कोशी प्रदेश निर्वाचन कार्यालय प्रमुख चोलराज दंगालका अनुसार तोकिएको समयभित्र उक्त क्लस्टरमा थापाबाहेक अरू कसैको मनोनयन दर्ता भएन । घिमिरेले खेल मैदानमा ढिलो छिर्दा अवसर हातबाट फुत्किएको स्वीकार्छन् । 

‘केन्द्रबाट निर्णयको खबर निकै ढिलो आयो’, घिमिरेले भने ‘त्यसबेला म संखुवासभाको खाँदबारीमै थिएँ । खबर आउँदा करिब साढे ११ बजिसकेको थियो ।’

बिहान करिब साढे १० बजेतिर नेकपा एसकी कोशी प्रदेश अध्यक्ष सरिता खड्काबाट पहिलो फोन आएको उनले बताए । राष्ट्रियसभाको टिकट आएको भन्ने अपुष्ट खबरका आधारमा ‘तयारी गर्नुस्’ भन्ने सन्देश पाएपछि उनी घरबाट निस्किइसकेका थिए । ११ बजेपछि मात्रै निर्णय पक्का भएको जानकारी आएको उनको भनाइ छ ।

‘निर्णय भयो भन्नेबित्तिकै गाडी रिजर्भ गरेर दौडिएँ’ उनी भन्छन्, , ‘तर तीन बजेसम्म विराटनगर पुग्न सकिन ।’ 

तीन बजे घडीले सुई ठोक्दा घिमिरे धरानमै थिए । 

वारेसमार्फत कागजात पठाए पनि उम्मेदवार स्वयं उपस्थित हुनैपर्ने निर्वाचन नियमले उनलाई रोक्यो । 

‘सबै कागजात पठाइएको थियो’ घिमिरे भन्छन् ‘तर निर्वाचन कार्यालयले उम्मेदवार आफैं आउनुपर्ने नियम रहेको बताएछ ।’ 

पार्टी केन्द्रको निर्णय किन ढिलो भयो भन्ने प्रश्नमा घिमिरे स्पष्ट छन् ‘हिजोसम्म निर्णय हुन सकेको थिएन । १७ दलबीच सहमति मिलाउनु परेकाले आज बिहान मात्रै टुंगियो ।’ 

यसले आफ्नो एउटा अवसर गुमेको महसुस भएको स्वीकार्दै उनले थपे ‘अवसर त गुम्यो नै । राम्रो प्रतिस्पर्धा हुने देखिन्थ्यो । तर अब जे भयो भयो ।’ 

५९ वर्षे घिमिरे नेकपाका केन्द्रीय सदस्य हुन् । पञ्चायतकालमै जनपक्षीय सभापति हुँदै गाउँ पञ्चायतको वडाध्यक्ष, २०४९ र २०५४ मा वडाध्यक्ष तथा २०५४ मा जिविस उपसभापति बनेका उनी दोस्रो संविधानसभा निर्वाचनमा तारामान गुरूङसँग १३२ मतले पराजित भएका थिए । 

समयमै निर्णय नहुँदा र दुरीको बाधाले गर्दा हेमराज घिमिरेको राष्ट्रियसभा यात्रा यसपटक धरानमै रोकियो ।

View : 411

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved