Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

ठेकेदार मन्त्री भएपछि......

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार कराउँदा–कराउँदा बल्ल आएर कटहरी–७ मा पर्ने लोहान्द्रा खोला नजिकैबाट काम सुरू गरिएको छ । जुन गतिमा काम भइरहेको छ त्यसअनुसार काम हुँदा पनि सम्पन्न हुन अझै चार वर्ष लाग्न सक्छ ।
उद्घोष सम्वाददाता
४ पुष २०८१, बिहिवार

फाइल फोटो ।

विराटनगर । मोरङको कटहरी–५ देखि विराटनगर–२ को हनुमान मन्दिरसम्म जोड्ने बाटो निर्माणको ठेक्का लिएर कान्छाराम कन्स्ट्रक्सनले चार वर्षदेखि अलपत्र छाडेको छ । 

थलाहाबाट महेशपुर हुँदै विराटनगर–२ मा जोडिने १७ किलोमिटर सो बाटोको ठेक्का कान्छाराम कन्स्ट्रक्सनले २०७७ साल असार १२ गते सम्झौता गरेको हो । 

४७ करोड १८ लाख रूपैयाँमा ठेक्का लिएको सो बाटोको काम आगामी असार मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्ने हो ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार कराउँदा–कराउँदा बल्ल आएर कटहरी–७ मा पर्ने लोहान्द्रा खोला नजिकैबाट काम सुरू गरिएको छ । जुन गतिमा काम भइरहेको छ त्यसअनुसार काम हुँदा पनि सम्पन्न हुन अझै चार वर्ष लाग्न सक्छ ।

कान्छाराम कन्स्ट्रक्सनले मोरङमा अर्को बाटोको काम पनि अलपत्र पारेर छाडेको छ । पथरीबाट रंगेली बजार जोड्ने ३० किलोमिटरको मनमोहन–गान्धी हुलाकी मार्ग र महेन्द्र राजमार्गलाई जोड्ने सहायक मार्ग हो ।

भारतीय सहयोगमा बन्न लागेको सो सडकको ठेक्का एक अर्ब ५७ करोड ५४ लाख ९२ हजारमा कान्छारामले लिएको छ ।

सो सडक निर्माणको सम्झौता २०७६ साल कात्तिक २४ गते भएको हो । सम्झौता अनुसार २०७९ कात्तिक २३ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेमा ठेक्काको म्याद बढाएर २०८२ साल असार १८ गतेसम्म पुर्याइएको छ । कामको प्रगति भने ३५ प्रतिशत मात्र छ ।

सो कम्पनीका मालिक पूर्णबहादुर तामाङ (कान्छाराम) बहालवाला मन्त्री हुन् । उनी ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री छन् । 

काममा ढिलासुस्ती गर्नेलाई कार्वाही गर्नुपर्नेमा पदमा बसेर आफूले ठेक्का लिएका कामहरू भने अलपत्र पारेर छाडेका छन् । देशभरमा गरेर उनले सात अर्ब भन्दा बढीको ठेक्काको काम ओगटेर बसेका छन् । 

सरकारले समयमा भुक्तानी नदिएर काम अघि बढ्न नसकेको भन्दै सरकारमा बसेर उल्टै सरकारलाई दोष दिंदै उनी भने कार्वाहीबाट जोगिइरहेका छन् ।

मोरङ खण्डमा पर्ने हुलाकी मार्गको बाँकी कामको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले पटकपटक बैठक बसाइसकेको छ । 

ठेकेदार कम्पनीहरू भने अनेकौं बहाना बनाएर कामलाई अघि बढाइरहेका छैनन् । कान्छारामले ठेक्का लिएको मनमोहन–गान्धी मार्ग हुलाकी मार्ग आयोजनाअन्तर्गत पर्दछ ।

View : 74

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved