विराटनगर । विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालय(पूवि)ले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ ।
विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका विभिन्न विषय अध्ययन गरेका विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, याकल्टी एक्सचेञ्ज लगायतका काम गर्ने गरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधीबीच हस्ताक्षर भएको पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी (पुसाट) का डाइरेक्टर नरेश साहले जानकारी दिए ।
विश्वविद्यालयले लिपफ्रग टेक्नोलोजी, इन्फो डेभेलपर प्रालि, ओम फर्मास्युटिकल्स एण्ड ल्याब्रोटोरिज, द युज मेसिन नेपाल प्रालि, एफवान सफ्ट, द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौं सेन्टर फर जियोनोमिक्स, एनएमबी बैंक, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टरसँग समझदारी गरेको छ ।
यसैगरी नर्भिक हस्पिटल प्रालि, नेपाल एग्रो सेन्टर प्रालि, नेपाल एग्रो इक्वुप्मेन्ट प्रालि, मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एसोसियट मुम्बईलगायतका १३ संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
एनएमबीसँगको समझदारीअनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई ५ लाखसम्म आधार ब्याजमा २ प्रतिशत नबढ्ने गरी अध्ययन कर्जा उपलव्ध गराउने भएको पूसाटका डाइरेक्टर साहले बताए ।
विश्वविद्यालयको तर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन प्राडा पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाईले हस्ताक्षर गरेका छन् ।
विभिन्न कम्पनीका प्रतिनिधिले सम्झौताले दुवै पक्षको हितमा काम गर्ने विश्वाससहित विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले सम्झौताले दुवै पक्षको हित हुने विश्वास व्यक्त गर्दै आफू यस सम्झौताबाट प्रसन्न भएको बताए ।
View : 176
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved