पुनमलाई रकम बुझाएका अमृता, जवना र प्रीति आफूले नक्कली जागिर पाएको डिजिटल परिचय पत्र देखाउँदै । तस्वीर ः कमल रिमाल/उद्घोष
विराटनगर । मोरङ बुढीगंगा–७ की अमृताकुमारी माझीले जिल्ला अदालत मोरङमा रिक्त कार्यालय सहयोगी पदका लागि अनलाइन फारम भरिन् । उनकी आफन्त जवनाकुमारी माझीले पनि त्यसै गरिन् । उनकै साथी ग्रामथान–५ निवासी प्रीतिकुमारी चौधरीले पनि माझीद्वयले जस्तै फारम भरेर रकम बुझाइन् ।
तीनै जनाले जनही दुई हजार पाँच सय ७५ रुपैयाँ रकम बुझाएपछि तीनै जना जिल्ला अदालतका कार्यालय सहयोगी भएको डिजिटल कर्मचारी परिचय पत्र पनि पाएका छन् ।
यसरी उनीहरूले जस्तै रकम बुझाएर कर्मचारी भएको परिचय पत्र र नियुक्ति पत्र लेखिएको खाम पाउने यति धेरै भएका छन् कि उनीहरू को को छन् भनेर प्रहरीलाई खोजी गर्न चुनौती भएको छ ।
खासमा उनीहरूसँग रकम लिएर परिचय पत्र उपलब्ध गराउने २७ वर्षीया कोमल साह र रकम लिने उनकी आमा ५० वर्षीया पुनमदेवी साहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
सिरहा लहान निवासी उनीहरूलाई विराटनगर–५ सम्झना चोकमा भाडामा बसेको घरबाट प्रहरीले शुक्रबार पक्राउ गरेको हो । अदालतमा जागिर लगाई दिने भन्दै रकम लिएर नक्कली परिचय पत्र दिने कोमलका श्रीमान् भने फरार भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार डेरामा बसेको घर कम्पाउण्डको पर्खाल नाघेर अर्को घर र त्यहाँको पर्खाल पनि नाघ्दै धेरै कम्पाउण्ड पार गरेर उनी भाग्न सफल भएका थिए ।
उनीहरूबाट ठगिने व्यक्तिहरू २७ जनाले प्रहरीमा उजुरी र चार जनाले जाहेरी दिइसकेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले बताइन् । उनका अनुसार उनीहरूबाट ठगिनेको संख्या पाँच सय जनासम्म पुग्न सक्ने देखिन्छ ।
उनीहरूले कोशी र मधेस प्रदेशका सयौैंलाई ठगी गरेको अनुमान छ । मोरङ, धनकुटा, सुनसरी, सप्तरी, सिरहा, धनुषालगायतका जिल्लाका ग्रामीण क्षेत्रका मानिसलाई उनीहरूले ठगेको प्रमाण भेटिएको छ । ठगिएका मानिस देशका धेरै जिल्लामा हुन सक्ने प्रहरीको अनुमान छ ।
‘सानो–सानो रकम ठगी गर्दा पीडित अदालतसम्म जान सक्दैन भनेर यस्तो .गरेजस्तो देखिन्छ तर, धेरैको संख्यामा मानिस ठगिदा ठूलो रकम जम्मा भएको हुनुपर्छ’ डीएसपी चुडालले भनिन् ।
गहनाबाट बाहिरिएको रहस्य
विराटनगरमा सञ्चालित गहना पसल ‘झुम्का दरवार’ मा गएको दशैंको घटस्थापनाका एक युवती भगवानको मूर्तिमा लगाउने पहे“लो धातु जस्तो देखिने गहना खरिद गर्न जान्छिन् ।
एक हजार रुपैयाँ नगद दिएर उनले केही रकम उधारोमा लिन आफू अदालतको अधिकृत पुनम साह भएको बताएर फर्किन्छन् ।
निकै दिनसम्म रकम तिर्न नआएपछि अदालतमा उनको बारेमा बुझ्दा पुनम साह कर्मचारी नै नभएको पाइएपछि उनको खोजी हुन्छ । खोजीका क्रममा पुनम नाम बताएर विभिन्न मानिससँग जागिर लगाउने भन्दै रकम लिएको र चेक दिएको फेला पर्न थाल्छ ।
पीडितहरू खोज्दै घटना सार्वजनिक गर्दै आएका सञ्चारकर्मी सोनुकुमार दासलाई तिनै पुनमले फोन गरेर मारिदिनेसम्मको धम्की दिएपछि पत्रकार महासंघले नै त्यसको विरोधमा विज्ञप्ति जारी गरेको थियो ।
अब अरु पीडित भन्दा पनि आफू पीडित भएको महसुस गरेर दासले उनीहरूको ठेगाना र अपराध पत्ता लगाउनै निकै दिन दौडधुप गरेपछि प्रहरी सञ्जयको डेरामा पुगेको थियो ।
सप्तरीको पोर्ताहा ठेगाना भएका सञ्जय र उनको टिमलाई पक्राउ गर्न मोरङका प्रहरी उपरीक्षक कवित कटवालकै नेतृत्वमा टोली पुगेको थियो । फरार सञ्जयलाई पक्राउ गरिने दाबी कटवालको छ ।
सरकारी छाप दुरुपयोग, अनलाइन ठगी र संगठित अपराधमा उनीहरूलाई कारवाही हुने देखिएको छ । सो समूहले बनाएको नक्कली कर्मचारी परिचय पत्रमा प्रशासन अधिकृत केदारनाथ पौडेलको नाममा हस्ताक्षर गरिएको छ । अदालतमा यो नामका अधिकृत छैनन् ।
अदालतका श्रेस्तेदार मणिराम पोखरेलका अनुसार जेनजी आन्दोलतको केही दिनपछि अदालतमा परीक्षा दिन भन्दै केही व्यक्ति आएका थिए ।
अदालत आन्दोलनकारीले जलाएर ध्वस्त पारेकाले कर्मचारी उभिनेसम्म ठाउँ नभएका बेला नयाँ कर्मचारी भर्नाका लागि भन्दै परीक्षा दिन आएका व्यक्तिहरूका कारण उनीहरू ठगिएको पोखरेलले त्यत्ति बेलै थाहा पाएका थिए ।
उनका अनुसार ठगी गर्ने गिरोहले १८ जना कार्यालय सहयोगी माग भएको सूचना जारी गरेका थिए । तर अदालतमा १६ जना कार्यालय सहयोगीको मात्रै दरबन्दी छ ।
पक्राउ परेकामध्ये छोरी कोमलले कर्मचारी हुने चाहनेहरूलाई फारम भरेको दस्तुर भन्दै कार्यालय सहयोगीका लागि २ हजार ५ सय ७५, खरिदार हुन चाहनेका लागि ४ हजार बढी र सुब्बामा फारम भर्न चाहनेका लागि त्यस भन्दा बढी रकम माग गर्दै आएकी थिइन् ।
कोमलले आफू अधिकृत पुनम भएको बताएर आङ्खनो खातामा रकम जम्मा गर्न लगाउँथिन् । रकम जम्मा गरेपछि ह्वाटसएपबाट कर्मचारी परिचय पत्र पठाउने गर्थिन् ।
परिचय पत्रमा दर्जा कार्यालय सहयोगी लेखिएको छ, र अवधिमा कार्यकाल लेखिएको हुन्छ । परिचय पत्र दिएपछि उनीहरूलाई नियुक्ति पत्र भनेर छाप लागेको बन्द खाम पठाइन्छ ।
अदालतबाट फोन नआउञ्जेल खाम नखोल्न चेतावनी कोमलले दिने गरेकी थिइन् ।
‘अदालतबाट बोलाउनुअघि खाम खोजिए अदालतले नै कारवाही गर्छ’ भनेर डर देखाएकाले पीडितहरू बन्द खाम बोकेर केही महिनादेखि जागिर पाएर ढुक्क हुँदै घरमा बसेका थिए ।
पुनम देवीले नै मोरङ जिल्ला अदालतको नक्कली फेसबुक पेज बनाएर विभिन्न पदमा जागिर खुलेको भन्दै सर्वसाधारणबाट बैंकिङ प्रणालीको प्रयोग गरी रकम असुली गरेको प्रहरीले जनाएको छ ।
साथै, पसलहरूमा किनमेल गर्ने बहानामा भुक्तानी गर्दा चेक दिने गरेको र उक्त चेक सटही नभएको अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार संलग्नहरूको खोजतलासका क्रममा पुनम देवीले ९८२३८९८२९३ नम्बरको मोवाइलमा इसेवामार्फत रकम असुली गरी ठगी गरेको खुलेको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरूको कोठाबाट विभिन्न व्यक्तिका नाममा तयार पारिएको नक्कली नियुक्ति पत्र समेत बरामद गरेको जनाइएको छ ।
पक्राउ परेपछि मात्रै उनी कोमल र आमा चाहिँ पुनम भएको पत्ता लागेको छ । कोमलले श्रीमान नेपाली भए पनि आफू भारतीय र आमा नेपाली भएको प्रहरीलाई बताएकी छन् ।
प्रहरीले ठगी मुद्दामा उनीहरूलाई कारवाही गर्न अदालतसँग माग गरे पनि जिल्ला अदालतले अदालतको छाप र लेटर प्याड प्रयोग गरेकोमा कारवाही अघि बढाउन प्रहरीलाई आदेश दिएको छ । कोमल र पुनमलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आइतबार प्रहरीलाई अनुमति दिएको छ ।
View : 1098
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved