विराटनगर । नेपाली कांग्रेसभित्र कोइराला परिवारको राजनीतिक विरासत धानिरहेका तीन नेताहरू छन् । डा. शेखर, डा. संशाक र सुजाता कोइराला ।
उनीहरूमध्ये शेरबहादुर देउवा पक्षमा उभिएका छन् वीपी पुत्र संशाक । देउवाविरुद्ध अभियान चलाउँदै आएका तर निर्णायक बेलामा ढुलमुले व्यवहार देखाउँदै अन्तिममा देउवासँगै उभिएका डा. शेखर सोही कारण आलोचित पनि भइरहेका छन् ।
तर कोइराला परिवारका दाजुभाइभन्दा अघि बढेर गिरिजाप्रसाद पुत्री सुजाताले भने नवनिर्वाचित सभापति गगन थापासँगै उभिने घोषणा गरेकी छन् ।
सुजाताले पार्टीभित्र आएको परिवर्तनलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा सार्वजनिक गरेकी छन् । शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै उनले कांग्रेस फुटेको अनुभूति आफूलाई नभएको बताएकी छन् ।
उनका अनुसार ‘नयाँ सभापति गगन थापा आउनु स्वाभाविक राजनीतिक प्रक्रिया हो र त्यसलाई खुशीसाथ स्वीकार गर्नुपर्छ ।’
सुजाताले नयाँ सभापति गगन थापालाई बधाई दिंदै वीपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक विरासत नबिर्सन आग्रह गरेकी छन् ।
पार्टी कार्यालय उही रहेको चारतारे झण्डा र रुख चिन्ह उही रहेको अवस्थामा पार्टी फुटेको भन्नु भ्रम मात्रै भएको उनको भनाइ छ ।
उनले कांग्रेसका अन्य नेताहरूलाई पनि संयम रहन आग्रह गर्दै डर र आत्तिने अवस्थाबाट बाहिर निस्कन अनुरोध गरेकी छन् ।
आगामी निर्वाचनमा सहभागी भएर पार्टीलाई जिताउनेतर्फ ध्यान दिनुपर्ने भन्दै कानुनी व्याख्यामा अल्झिनु भन्दा राजनीतिक परिपक्वता देखाउनुपर्ने उनको सन्देश छ ।
शेखर कोइराला भने अझै दुविधामा देखिन्छन् ।
उनी पक्षका नेता गोविन्दराज पोखरेलले शेखर कोइराला पार्टीको आधिकारिक लाइनमै उभिने निष्कर्षमा पुगेको बताएका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिएपछि शेखर कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा समूहले राख्ने कुनै पनि बैठकमा अबदेखि सहभागी नहुने घोषणा गरेको पोखरेलले बताएका छन् ।
निर्वाचन आयोगको निर्णयपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाएको विघटित केन्द्रीय समिति बैठकमा सहभागी भएपछि शेखर कोइरालाको यो निर्णय सार्वजनिक भएको हो ।
सो बैठकमा कोइरालासहित उनका निकट केन्द्रीय सदस्यहरूले अब यस्ता छलफल र बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।
उनीहरूले आफूहरू अब वैधानिक रूपमा केन्द्रीय सदस्य नरहेकाले निर्णय प्रक्रियामा बस्नु उपयुक्त नहुने निष्कर्ष निकालेको पोखरेलले बताए ।
सानेपा बैठकमा सहभागी हुनुअघि शेखर कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा आफूनिकट नेताहरूसँग आन्तरिक छलफल गरेका थिए ।
सो छलफलमा पार्टीलाई थप विभाजनतर्फ धकेल्न नहुने र आन्दोलनभन्दा निर्वाचन प्रक्रियालाई प्राथमिकता दिनुपर्ने साझा धारणा बनेको थियो ।
यही निष्कर्ष कोइरालाले सानेपाको बैठकमा स्पष्ट रूपमा राखेको उनी निकट नेताहरूले जानकारी दिएका छन् ।
कोइरालाले निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्थामा पार्टीलाई सडक आन्दोलनतिर नलैजान आग्रह गरेका थिए । कोइराला पक्षका नेता पोखरेलका अनुसार कोइरालाले अदालत जाने अधिकार सुरक्षित भए पनि तत्काल आन्दोलनको बाटो नअपनाउन जोड दिएका थिए ।
राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन सफल पार्नु अहिलेको मुख्य दायित्व भएको उनको भनाइ थियो ।
यद्यपि बैठकमा धारणा राखे पनि शेखर कोइरालासहित उनका अधिकांश समर्थक केन्द्रीय सदस्यहरूले निर्णय पुस्तिकामा हस्ताक्षर गरेनन् ।
आफूहरू अब केन्द्रीय सदस्य नरहेको भन्दै उनीहरूले निर्णय प्रक्रियाबाट औपचारिक दूरी कायम गरेको नेताहरूले बताएका छन् । शेखरको निजी सचिवालयले भने त्यस्तो कुनै निर्णय नभएको दाबी गरेको छ ।
‘अबदेखि देउवा पक्षले बोलाउने बैठकमा सहभागी नहुने घोषणा गर्नुभएको हो ?’ भन्ने प्रश्नमा शेखरका स्वकीय सचिव दिनेश थपलियाले भने ‘होइन, त्यस्तो केही निर्णय भएको छैन ।’
View : 151
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved