विराटनगर । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । आफ्नो १९औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित एक समारोहमा सो फाउण्डेसनको घोषणा गरिएको हो ।
विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरि २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढिको योगदान गरेको जनाइएको छ ।
हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं, वार्षिकोत्सव मनाउन आयोजना गरिएको एक विशेष कार्यक्रमका दौरान एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको उद्देश्य रहेको बताएको छ ।
वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तिमा २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ ।
एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कूल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन् ।
गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयनमा रहेकाछन् । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो ।
View : 92
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved