Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

काठमाडौँमा बाढीः एकको मृत्यु, ३६ जनाको उद्धार

उद्घोष सम्वाददाता
१६ साउन २०८१, बुधवार

काठमाडौं । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट जनजीवन प्रभावित भएको छ । बाढीले बगाएर एकजनाको मृत्यु समेत भएको छ । प्रहरीले बाढी प्रभावित ३६ जनालाई उद्दार गरेको छ । 

बल्खु खोलाको बाढीमा परी बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको प्रहरीको भनाई छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका उनको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाइएको जनाइएको छ ।

काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । 

बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । 

काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको छ । 

काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ । 

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छ जनाको उद्धार गरिएको छ ।

View : 164

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved