विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले लोकतन्त्रको अनुभूति जनताले गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागेको बताएका छन् ।
१८ औं गणतन्त्र दिवसको उपलक्ष्यमा गणेशमानसिंह फाउण्डेशन मोरङ, नेपाल रेडक्रस सोसाइटी, मोरङ र लायन्स क्लब अफ विराटनगरद्वारा शनिवार मोरङको धनपालथान गाउँपालिका–३ सोराभागमा आयोजित वृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा देखिएका वेथितिलाई अन्त्य गरी नागरिकले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न राज्यले लगानी वढाउनुपर्ने बताएका हुन् ।
मन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रको अभ्यासअनुसार नागरिकको लगानीमा वीमा मार्फत नागरिकले सहज र सरल रुपमा निःशुल्क स्वास्थ्य सेवा उपचार हुने स्थिति बनाउनुपर्ने सुझाव दिए ।
मन्त्री पौडेलले गत फागुन महिनामा ५० लाख नागरिकको स्वास्थ्य अवस्था बुझ्ने कार्य भएको र जटिल अवस्थामा भएकाको उपचार गर्ने पद्धतिको विकास सुरु गरेको बताए ।
विराटनगर–१० स्थित शैलजा आचार्य हृदयरोग केन्द्रलाई क्याथ ल्याव प्रदान गरेको बताउँदै उनले यसलाई व्यवस्थित रुपले सञ्चालन गर्नका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सभा सदस्यहरू अमृत अर्याल, डोल्मा तामाङ र गयानन्द मण्डल गनगाईले धनपालथान गाउँपालिकामा निर्माणाधीन १५ शैय्या अस्पतालको लागि आवश्यक सहयोग उपलव्ध गराउन आग्रह गरेका थिए ।
फाउण्डेशनका अध्यक्ष फूलकुमार लालवानी, धनपालथान पालिकाका अध्यक्ष जिवछ गच्छदार, नेपाल क्षयरोग निवारण संस्थाका शिव प्रधान र नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुकदेव मण्डलले मोरङका दुर्गम क्षेत्रका जनतालाई सहज उपचारका लागि यस प्रकारको स्वास्थ्य शिविर आगामी दिनमा समेत गर्ने जानकारी गराए ।
एकदिने स्वास्थ्य शिविरमा न्यूरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटल प्रालि विराटनगरले चिकित्सक सहित ५० जना स्वास्थ्यकर्मीले क्षयरोग, न्यूरो, हाडजोर्नी, फिजिसियन, ग्यास्ट्रोलोजी, डाइटिसियन, स्त्री रोग, आँखा, चर्म, स्वासप्रश्वास, अल्ट्रासाउड सेवा, रगत जाँच लगायत सेवा प्रदान गरेको थियो ।
View : 24
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved