उद्योग संगठन मोरङ ५६औँ वर्षमा
विराटनगर । औद्योगिक क्षेत्रको नेतृत्वदायी संस्था उद्योग संगठन मोरङले आफ्नो ५६औँ स्थापना दिवस मनाएको छ । विक्रम संवत् २०२४ सालमा स्थापित संगठनले शुक्रवार स्थापना दिवसको अवसर पारेर पूर्वअध्यक्षहरुको योगदानको चर्चा गर्नुका साथै रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।
स्थापना दिवसका अवसरमा बोल्दै वर्तमान अध्यक्ष राकेश सुरानाले स्वर्णिम इतिहासको जगमा संगठन स्थापित भएको बताए । उनले संगठनका पूर्व अध्यक्षहरूले संगठनको श्रीवृद्धि पुर्याएको योगदानलाई स्मरण समेत गरेका गरे । पछिल्ला दिनमा संगठनले अध्ययन अनुसन्धानका आधारित नीतिगत बहस पैरवीलाई जोड दिँदै उद्यमशीलता प्रवर्द्धनको इकोसिस्टम विकासमा आफू क्रियाशील रहेको बताए ।
अध्यक्ष सुरानाले उद्यमशीलता विकासमा आफ्नो भविष्य बनाउन चाहने आर्थिक रूपमा कमजोर, लगनशील र मेहनती एक जना विद्यार्थीलाई विराटनगरको डिग्री क्याम्पसमा एमबिए अध्ययन गर्न पूर्ण स्कलरसिप प्रदान गर्ने घोषणा गरे । उनले उक्त विद्यार्थीलाई संगठन अन्तरगतको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रममा समावेश गरी उद्यमशीलता विकासका लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने पनि बताए ।
निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले कुनै पनि संस्थाको गरिमा अभिवृद्धिमा नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले संगठनको ओजिलो इतिहास निर्माणमा पूर्व अध्यक्षहरूले पुर्याएका योगदानको प्रशंसा गरे । प्याकुरेलले औद्योगिक विकास र लगानीमैत्री वातावरण निर्माणमा संगठनले विगतदेखि पुर्याउँदै आएको योगदानलाई समेत वर्तमान नेतृत्वले निरन्तरता दिनेमा विश्वस्त रहेको बताए ।
संगठनको स्थापना दिवसका अवसरमा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले व्यापार संघ र उद्योग संगठनले उद्योगी व्यवसायीहरूको मुद्दाहरूलाई राष्ट्रियकरण गर्न निरन्तर सहकार्य गर्दै आएको बताए । उनले अगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
संगठनका कार्यसमिति सदस्य एवं ५६औँ स्थापना दिवस कार्यक्रम आयोजना समितिका संयोजक जयेन्द्र शर्माले आर्थिक एवं औद्योगिक विकासका लागि संगठन प्रतिबद्ध भएको र संगठनको संस्थागत विकासमा सहयोग पुर्याउने सबै क्षेत्रलाई धन्यवाद दिए ।
संगठनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संगठनका पदाधिकारीहरू, कार्यसमिति सदस्य, महिला उद्यमी, मोरङ व्यापार संघ र विराट व्यापार संघका अध्यक्ष एवं पदाधिकारीहरू, उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी विराटनगर ब्लड बैङ्कसँगको सहकार्यमा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरूसहित ३५ जनाले रक्तदान गरेका थियो ।
View : 209
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved