Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

‘कर तिर्छौं तर हतोत्साहित नगर्नुस्’

'अर्थतन्त्र नै खुम्चिएको अवस्थामा करमैत्री वातावरण तयार गरिदिनुस्: नवीन रिजाल
उद्घोष सम्वाददाता
१९ माघ २०८०, शुक्रवार

विराटनगर । उद्योगी व्यवसायीहरूले कर तिर्दा पनि स्थानीय तहमा हतोत्साहित हुनुपरेको गुनासो गरेका छन् । बिहीबार मोरङ व्यापार संघको नेतृत्वमा मोरङको बुढीगंगा गाउँपालिका पुगेको प्रतिनिधि मण्डलले गाउँपालिकाका जनप्रतिनिधिहरूलाई भेटेर यस्तो गुनासो गरेको हो ।

व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थतन्त्र नै खुम्चिएको अवस्थामा उद्योगी व्यवसायीहरूलाई करमैत्री वातावरण तयार गरिदिन माग गरे । उनले कर तिर्न खोज्दा आफूहरूलाई हतोत्साहित बनाइने गरेको गुनासो गरे । 

‘उद्योगी व्यवसायीहरू कर तिर्न तयार नभएका होइनन्, तर कतिपय बेलामा ‘ह्यार्यासमेन्ट’ हुने गरेको छ, उद्योगी साथीहरूले गुनासो गर्नुभएको छ’ रिजालले भने, ‘काठमाडौंमा मन्त्री तहमा सहज रुपमा काम हुने तर स्थानीय तहमा काम गर्न ढिलाइ हुने समस्या झेल्नुपरेको छ ।’

उनले बुढीगंगा गाउँपालिकाले पटके कर, कवाडी कर र उद्योग दर्ता नवीकरणमा २५ प्रतिशत जरिवाना लाग्ने समस्यालाई सहजीकरण गरिदिन आग्रह गरे । उनले सर्जमिनमा अत्याधिक समय लाग्ने गरेको पनि गुनासो गरे ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष रमेश राठीले तीनै तहका सरकारहरूले निजी क्षेत्रलाई अहिले सहयोग गर्नुपर्ने बताए । मोरङ व्यापार संघका महासचिव अनिल सारडाले उद्योगी व्यवसायीहरू नै राज्यको कर प्रणालीप्रति संवेदनशील रहेको बताए । तर गाउँपालिका पनि त्यतिकै संवेदनशील भएर उद्योगी व्यवसायीमैत्री वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले करै नलिनु भन्ने हिसावले कसैले पनि सुझाव र दवाव दिन नहुने बताए । उनले गाउँपालिकाले समयानुकल करको दरलाई समायोजन गर्दै दायरा पनि मिलाउँदै गएको बताए ।

आफूहरू करको समस्याको विषयमा उद्योगी व्यवसायीहरूसँगै बसेर सहजीकरण गर्न तयार भए पनि उद्योगी व्यवसायीहरू राजश्व परामर्श समितिको बैठकमै उपस्थित नहुने गरेकोले समस्या हुने गरेको बताए ।

मगरले बुढीगंगा गाउँपालिकाभित्र रहेका उद्योगहरूले सामाजिक उत्तरदायित्व अन्तरगतको रकम सोही पालिकामा खर्च गर्नुपर्ने बताए । पालिकाले दक्ष कामदार उत्पादनमा समेत लगानी गर्दै आएकोले उद्योग व्यवसायमा पनि पालिकाभिक्रकै व्यत्तिहरूले रोजगारीको अवसर पाउनुपर्ने बताए ।

छलफलका क्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदारले पालिकाको आम्दानी घट्दै जाने अवस्थालाई समेत ध्यानमा राखेर उद्योगी व्यवसायीहरूले करको बिवषयमा सुझाव दिनुपर्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले उद्योगी व्यवसायीहरूलाई अनावश्यक रुपमा दुख दिने गरी पालिकाले कर निर्धारण नगरेको स्पष्ट पारे । उनले व्यवसाय करलाई जरिवाना लाग्नु अगावै भुक्तानी गर्न र कवाडी करलाई स्वघोषणा गरेर तिर्ने व्यवस्थाका लागि छलफल गर्न सकिने बताए ।

View : 129

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved