विराटनगर । राज्यकोषको बजेट विनियोजन गर्ने क्रममा मनपरी गर्दै आफ्नो क्षेत्र र जिल्लामा मात्रै केन्द्रित बनेको आरोप खेपिरहेका कोशी प्रदेशका मन्त्रीहरुले संसद्मा उभिएर आफ्नो निर्णयको बचाउ गर्ने प्रयास गरेका छन् ।
प्रदेशसभाको बुधबारको बैठकमा बजेटबारे सांसदहरुले उठाएका सवालको मन्त्रीहरुले जवाफ दिने कार्यसूची थियो । सोही अनुसार मन्त्रीहरुले आ–आफ्ना मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिएका थिए ।
त्यसक्रममा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र पर्यटन मन्त्री सदानन्द मण्डललाई आफ्नो निर्णयको प्रतिरक्षा गर्न कठिन बनेको प्रष्ट देखिन्थ्यो ।
त्यसैले उनीहरु दुवै जनाले सांसदहरुले गरेका प्रश्नको जवाफ दिनेभन्दा पनि उल्टै पहिले पनि यस्तै भएकाले अहिले आफूले त्यही गरेको आसयमा जवाफ दिएका थिए ।
यस पटकको बजेटमा सबैभन्दा धेरै मनपरी गरेको आरोप खेपिरहेका मन्त्री हुन् भूपेन्द्र राई ।
भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गरिरहेका उनलाई आफ्नो जिल्ला आफ्नो जिल्ला खोटाङमा आफू नेतृत्वको मन्त्रालयबाट मात्रै एक अर्बभन्दा बढी बजेट खन्याएका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले बुधबार प्रदेशसभामा पहिले पनि यस्तै काम भएको बताएका थिए ।
मन्त्री राईले पूर्व मुख्यमन्त्री राजेन्द्र राई, पूर्व आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोको पालामा सबैभन्दा धेरै बेथिति भएको आरोप लगाए ।
त्यस्तै पूर्व भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेतीजस्तो मोरङको निर्वाचन क्षेत्र र पालिका केन्द्रित भएर आफूले बजेट नलगेको दाबी पनि मन्त्री राईले गरेका छन् ।
रातो किताबले नचिन्ने एकैपटक नयाँ बजेटमा दिनभन्दा २०७९–८० को भुक्तानी दिन नसकिने भन्दै राईले रातो किताबले नचिनेको बजेट यत्रतत्र वितरण भएको आफूले पाएको आरोप लगाए ।
विपक्षी सांसदहरुले अहिलेको सरकारले क्रमागत र धेरै बहुवर्षे आयोजनामा बजेट काटेको आरोप लगाएका थिए ।
मन्त्री राईले बेथितिको थाक चिर्न त्यस्ता योजनामा बजेट नहालेको दाबी गरेका छन् ।
उनले भने, ‘क्रमागत र मर्मत शीर्षकको बजेट किताबले चिन्दैन । अर्को वर्षका लागि पनि राखिएको छ । अहिले बजेट राखेर पछि भुक्तानी गर्न भनियो, त्यो सकिएन ।’
उनले बजेटमा बिचौलियाको प्रवेश हुन खोजे पनि रोकिएको र कर्मचारीमार्फत पनि बजेट हाल््न नदिएको दाबी पनि गरेका छन् ।
उनले १४ जिल्लामै सिलिङअनुसार बजेट पठाइएको दाबी गर्दै भने ‘कुनै पनि बहुवर्र्षीय योजना नछुटेको र भुक्तानी अभाव हुने छैन । निर्माण व्यवसायीले पैसा नपाएको भनेर भनेका छैनन् ।’
उनले कडा रोगीलाई अब रकम बाँड्न सक्ने अवस्थामा सरकार नरहेको र अर्को २८ करोड दिन नसक्ने बताए । त्यसैगरी पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफूलाई नधम्क्याउन भन्दै सांसदहरूलाई उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।
अधिकांश सांसदहरूले प्रदेशको बजेटमाथिको छलफलका क्रममा मन्त्री मण्डलले आफ्नो क्षेत्र र जिल्लामा बजेट खन्याएको बताएका थिए । त्यसबारे बुधबारको बैठकमा जवाफ दिँदै मण्डलले आफू धेरैपटक जेलनेल बसेको व्यक्ति भएको र कांग्रेसको जिम्मेवार व्यक्ति भएकोले त्यसरी आफूलाई औंला नउठाउन भनेका थिए ।
‘मलाई कांग्रेसको खत्तम मानिस भनेर औंलो नदेखाउनुहोस् । सम्मानित हिसाबले हेर्ने प्रयास गरौं । मैले सानो बजेट लाँदैमा म खराब हो ? पहिले पनि मन्त्रीहरूले बजेट लगेको होइन । यो प्रस्तुति कसैको हकमा राम्रो हु“दैन’ उनले भनेका थिए ।
मन्त्री भूपेन्द्र राईको गृहजिल्ला खोटाङमा उनको मन्त्रालयबाट मात्रै १५५ वटा योजनाका लागि १ अर्ब १४ करोडभन्दा बढी रकम विनियोजन भएको छ । आर्थिक वर्ष २०८२–८३ का लागि कोशी सरकारले कूल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
त्यसमध्ये भौतिक पूर्वाधारमा १० अर्ब ५७ करोड ५१ लाख रुपैया“ विनियोजन भएको छ । त्यही रकममध्ये झण्डै एक अर्बभन्दा बढी बरकम खोटाङका लागि मात्रै छुट्याइएको हो ।
खोटाङका लागि निश्चित गरिएका १५५ आयोजना र १ अर्बभन्दा बढी रकम भौतिक पूर्वाधार मन्त्रालयबाट मात्रै हो ।
सामाजिक विकास, पर्यटन, खानेपानी तथा सिञ्चाई, कृषि तथा उद्योग मन्त्रालयहरुबाट विनियोजन भएको योजना र रकम अलग्गै छ ।
खोटाङकै बासिन्दाहरु पनि यसपटक भूपेन्द्र राई र पा“चकर्ण राईले जिल्लामा प्रदेशबाट पर्याप्त बजेट भिœ्याएको बताइरहेका छन् ।
त्यसमध्ये पनि भूपेन्द्रले सबैभन्दा धेरै बजेट भिœयाएको खोटाङमा चर्चाको विषय छ ।
कोशीमा १४ जिल्ला छन् । जसमा २८ वटा प्रतिनिधिसभा क्षेत्र र ५६ प्रदेशसभा क्षेत्र छन् । त्यसमध्ये सबैभन्दा धेरै बजेट मन्त्री राईले आफ्नो क्षेत्रमा पारेका छन् ।
यसैको सर्वत्र विरोध भइरहेको छ ।
त्यसैगरी पर्यटन मन्त्रालयको कूल बजेटमध्ये २५ प्रतिशत हिस्सा पर्यटन मन्त्री मण्डलको जिल्ला सुनसरीमा मात्रै परेको भन्दै आलोचना भइरहेको छ ।
बुधबारबाट बजेटबारेको छलफल सकिएको छ । ३८ सांसदले यसपटक बजेटबारे बोलेका थिए ।
कृषिमन्त्री खगेनसिंह हाङ्गाम, सामाजिक विकास मन्त्री पा“चकर्ण राईले पनि बुधबार सभाको बैठकमा जवाफ दिएका थिए ।
बजेटसँग असन्तुष्ट कांग्रेसका धेरैले यसपटक छलफलमा भाग नै लिएनन् भने एमालेकै सांसदले पनि असन्तोष प्रकट गरिरहेका छन् ।
View : 511
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved