Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले मोरङमा गुट अदलबदल, बाबुराम कार्की पनि ढकाल समूहमा

उद्‌घोष सम्वाददाता
२६ फागुन २०८१, सोमवार

विराटनगर । नेकपा (एमाले) मोरङको भर्खरै सकिएको अधिवेशनमा टिम अदलबदलको खेल अन्तिमसम्मै चल्यो । यही श्रृंखलामा जोडिएका नयाँ पात्र बनेका छन्, संगठन कमिटीका निर्वतमान अध्यक्ष बाबुराम कार्की । 

तत्कालीन अध्यक्ष कार्कीलाई संस्थापन पक्षले अन्तिम समयमा धोका दिंदा उनले पनि उक्त समूहलाई धोका दिएर विनोद ढकाल समूहलाई साथ दिएको खुलेको छ । 

नेकपा (एमाले) मोरङको १० औं अधिवेशनको नतिजा आइसकेको छ । नेता विनोद ढकालको  अगुवाइमा बनेको अजम्बर राई नेतृत्वको प्यानलले सबै पदाधिकारीसहित बहुमत सदस्यमा जीत हात पारेको छ । यसक्रममा केही समयअघिदेखि ढकाल समूहलाई पेल्न प्रयोग भएका कार्कीले अन्तिम समयमा आएर ढकाल समूहलाई नै साथ दिएको खुलेको हो ।

‘उहाँलाई अध्यक्ष बन्छु भन्ने ठूलो आशा थियो’, विनोद ढकाल प्यानलबाट जिल्लाको पदाधिकारीमा निर्वाचित एक नेताले उद्घोषसँग भने ‘तर, उहाँलाई अध्यक्ष बनाउँदैनन् भनेर विनोद दाइले भन्दिनुभएको थियो । तपाईं उम्मेदवार बनेर आउनु, त्यसपछि सोचौंला पनि भन्नुभएको थियो । तर, उहाँलाई नबनाउने पक्का थियो । बन्नु भएन । अन्तिममा धोका भएपछि उहाँले हामीलाई नै सहयोग गर्नुभयो ।’ 

त्यसो त ९ महिनाभन्दा लामो समय एमाले मोरङलाई संगठन कमिटीको अध्यक्षका रूपमा नेतृत्व गरेका कार्कीलाई संस्थापन पक्षले अध्यक्ष बनाउन नचाह“दा उनी निराश थिए । 

जिल्ला नेतृत्वबाट विस्थापनमा परेका उनले संस्थापन समूहले आफूलाई प्रयोग मात्रै गरेको भन्दै निकटहरूलाई गुनासो पनि गर्दै आएका छन् ।

अधिवेशनबाट जिल्ला अध्यक्ष बनाउने  आशा देखाएरै महानगरका तत्कालीन अध्यक्ष सागर थापासहितका नेताहरूलाई पार्टी सदस्यबाटै हटाउन लगाउँदा कार्की नै अघि सरेका थिए । 

‘जिल्ला अधिवेशनमा ४६ जना प्रतिनिधि मनोनयन गर्नुअघिसम्म पनि मलाई नै अध्यक्ष बनाउने भनिरहेका थिए’, कार्कीले निकटस्थहरूलाई भनेका थिए ‘तर, एक पक्षीय रूपमा प्रतिनिधि छानेपछि भने मलाई फ्याँकिदिए । राजकुमार ओझालाई अघि सारे ।’

त्यसबेलासम्म गुरु बराल, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, ऋषिकेश पोखरेलहरूले कार्कीलाई अघि सार्ने बताएका थिए । तर, प्रतिनिधि मनोनित गरिसकेपछि भने ओझालाई अघि सारेका थिए । कार्कीको पक्षमा ऋषिकेश पोखरेल अन्तिमसम्म उभिए पनि उनी अधिवेशनस्थल छाडेर काठमाडौं गइसकेका थिए । 

कार्कीका लागि आफ्नै खुट्टामा बञ्चरो सावित भएको मानगढ खानेपानी विवाद विनोद ढकाल समूहका लागि भने फाइदाकारी सावित भयो । 

गएको जेठमा मानगढ खानेपानी चुनावमा  पार्टीले भनेभन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको आरोपमा सागर थापासहितका नेताहरूलाई  जिल्ला संगठन कमिटीका अध्यक्ष कार्कीले कारबाही गरेका थिए । 

त्यसबेला कारवाही गर्ने कमिटीकी संयोजक शान्ति लिम्बू आफैले गरेको कारबाही भोग्न सागर थापासँग उपाध्यक्षमा पराजित बनेकी छन् ।

View : 512

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved