Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

हरिनगरमा झडप

पुलिसको पेस्तोल लुटियो, डीएसपीसहित ९ प्रहरी घाइते

उद्घोष सम्वाददाता
२६ चैत २०८०, सोमवार

सुनसरी । सुनसरीको हरिनगरलगायतका आसपासका क्षेत्रमा तीन दिनदेखि भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन हिंसात्मक बनेपछि सदरमुकाम इनरुवालगायत पाँच पालिकामा लगाइएको कर्फ्यु सोमबार बिहानसम्म लम्ब्याइएको छ । 

आइतबार दिउँसोसम्म सामान्य बन्दै गएको हरिनगरको अवस्था अपरान्ह हिंसात्मक बनेपछि प्रहरीले १२ राउण्ड हवाइफायर २९ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट गरेका छन् । सो क्रममा प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीसहित ९ जना प्रहरी घाइते भएको सुनसरी प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिए । 

नेतृत्वविहीन रहेका प्रदर्शनकारीले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई निर्घात कुटपिट गरी हतियार लुट्ने प्रयास गरेका छन् । 

सादा पोसाकमा रहेका प्रहरीको साथबाट ७ राउण्ड गोली लोड भएको पेस्तोल लुटे पनि प्रहरीले बल प्रयोग गरेर फिर्ता गराउन सफल भएको जनाएको छ । 

प्रदर्शनकारीले हरिनगर बजारमा रहेको एउटा घरमा तोडफोड गर्नुको साथै आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ । 

प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि सुरक्षा ब्यवस्था कडा बनाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । 

शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगञ्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको आचार्यले जानकारी दिए । अर्को सूचना नआएसम्मको लागि हरिनगर गाउँपालिका पूरै र देवानगञ्ज वडा १ र ७ मा कर्फ्यु यथावत रहेको आचार्यले जानकारी दिएका छन् । 

प्रशासनले अन्य पालिकाहरूमा भने आंशिक रुपमा कर्फ्यु लागु हुने जनाएको छ । 

प्रजिअ आचार्यका अनुसार इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्जको वडा २, ३, ४,  ५ र ६ वडा, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने कर्फ्युलाई प्रशासनले केही खुकुलो बनाएको छ । 

यी क्षेत्रमा सोमबार बिहान १० बजेसम्म आंशिकरुपमा कर्फ्यु लागु हुने प्रजिअ आचार्यले जानकारी दिए । 

गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि अवस्था असामन्य बनेको हो । 

दुई समूहबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्कन नदिन र जनताको जीउधनको सुरक्षाका लागि बिहीबारदेखी कर्फ्यु लगाइएको हो ।

View : 2390

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved