विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारमा सहभागी हुन अझै हप्ता दिन लाग्न सक्ने बताएका छन् । उनले कोशीको बारेमा निर्णय लिनका लागि नेताहरूबाट बल्ल पालो आएको बताए ।
प्रदेशमा सरकारमा जान कुनै पनि समस्या नभएको र निर्णय गर्नलाई पनि कठिनाइ नभएको उनले दाबी गरे । तर, नेतृत्वहरूका बीचमा कोशीभन्दा महत्त्वपूर्ण वाग्मती, गण्डकी र सुदूरपश्चिम सरकार रहेका कारण कोशी प्रदेशको सरकारमा कांग्रेस जान ढिलाइ भएको बताए ।
सरकारमा जान ढिलाई भइरहेको स्वीकार गर्दै थापाले भने, ‘मलाई लाग्छ अब कोशीको पालो आएको छ सरकारको नेतृत्व गर्ने कुरामा, अब हप्ता-दस दिनभित्र, धेरै त लाग्दैन अब हप्तादिन भित्रै नेपाली कांग्रेसको नेतृत्वमा कोशी प्रदेशमा सरकारमा जाँदैछौं ।’
उनले मन्त्रीका लागि आकांक्षीहरूको संख्या धेरै हुनु स्वाभाविक भएको बताए । माननीय भएपछि मन्त्री हुनका लागि बल गर्नु स्वाभाविक भए पनि कसलाई बनाउने भन्ने कुरा पार्टीका नेताहरू बसेर निर्णय गर्ने जानकारी दिए । मन्त्री पठाउँदा वैज्ञानिक पद्धति विकास गरेर पठाउने र सबैको आलोपालोमा सबैको नेतृत्व पुग्ने गरी पठाउने गृहकार्य भइरहेको बताए । दलका नेता थापाले कोशी प्रदेशमा कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने विषयले प्रवेश नै नपाएको दाबी गरे ।
‘यसको नेतृत्वमा जाने भन्ने अहिले निर्णय भएको छैन, कोशीको त विषय नै प्रवेश भएको छैन, कहाँबाट कसको नेतृत्वमा जान्ने भन्ने कुरा नै अहिले छलफलै भएको छैन,’ थापाले भने, ‘सायद मलाई लाग्छ अब भोलि पर्सिबाट विषय प्रवेश गर्छ कि ?’
मन्त्री छान्ने लगायतका विषयमा अहिलेसम्म केन्द्रले नै गर्दै आएको भन्नै यसपटक पनि केन्द्रले नै निर्णय गर्ने बताए ।
‘अघिल्लो पटक पनि केन्द्रले नै निर्णय गरेको हो, कोशी प्रदेशमा पटक–पटक सरकार परिवर्तन भयो, कांग्रेसको नेतृत्वमा सरकारमा जाँदै गर्दा पनि केन्द्रीय तहबाटै बसेर निर्णय भएर केन्द्रबाटै नाम आएको छ, त्यही नामलाई नै प्रदेशले सपथ ग्रहण गराएर मन्त्रीको सपथ ग्रहण गराउने काम प्रदेशले गरेको छ,’ उनले भने, ‘यसपटक पनि हुने त्यही हो, नेताहरू बसेर आवश्यकता ठानेको खण्डमा प्रदेशको सभापतिलाई पनि राखेर निर्णय गर्ने परम्परा हिजो पनि थियो, आज पनि त्यै हुन्छ । भोलि पनि त्यसैगरी निर्णय हुन्छ ।’
View : 292
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved