Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

झापाका उद्योगी व्यवसायीलाई श्रम बजार सूचना प्रणालीबारे अभिभुखिकरण

उद्घोष सम्वाददाता
७ वैशाख २०८१, शुक्रवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले झापाका उद्योगी व्यवसायीहरूको संस्थागत विकासका लागि उद्योगीहरू तथा उद्योग वाणिज्य संघ र वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि सहभागी गराएर अभिमुखीकरण सम्पन्न गरेको छ ।

महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा शुक्रबार आयोजित अभिमुखीकरणमा श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासबारे जानकारी गराइएको जनाइएको छ । 

उपाध्यक्ष पोखरेलले उद्योग प्रतिष्ठानहरूमा कामदार सम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताए । उनले श्रम बजार सम्बन्धी अध्ययन नभएको अवस्थामा रोजगारदाताले दक्ष कामदार पाउन नसकेको धारणा राखे । 

नेपाल भेनियर उत्पादक संघका अध्यक्ष एवं मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले चार हजार कामदार रहेको भेनियर उद्योगमा ९० प्रतिशत भारतीय कामदार रहेको बताए । उनले कार्यरत १० प्रतिशत नेपाली कामदार पनि वैदेशिक रोजगारको पर्खाईमा रहेका कारण स्वदेशी कामदारको अभाव हुने गरेको बताए ।

झापा उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य यम बहादुर श्रेष्ठले चिया तथा चामल उद्योगहरूमा दक्षता भएका श्रम शक्तिको अभाव रहको बताए ।

समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको सीपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

उनले सफ्टवेयरमा रोजगारदातालाई जोड्ने प्रयास जारी रहेको जानकारी दिँदै महासंघको पहलमा निर्माण हुने उक्त प्लेटफर्ममा उद्योग प्रतिष्ठानहरूले पहुँच राख्ने र विद्यमान श्रम जनशक्तिको माग र आपूर्तिको समस्याको समाधान हुने विश्वास व्यक्त गरे । उनले उद्योग प्रतिष्ठानहरूले दक्ष कामदारलाई उत्प्रेरणा जगाउने कार्य गर्नुपर्नेमा समेत जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले समग्र परिस्थितिको सुधार नभएसम्म उद्योग प्रतिष्ठानहरूले प्रगति गर्न नसक्ने बताए । उनले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिको आवश्यकता रहेको बताउँदै उद्योगहरूको अवस्था वर्गीकरण सोही अनुसार गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव दिए ।

हल्दीबारी इँटा उद्योगकी सञ्चालिका ज्योति न्यौपाने रिजालले आफ्नो उद्योगमा अधिकांश भारतीय कामदार रहेको बताइन् । उनले नेपाली कामदारहरूको कार्यक्षमता कम हुने गरेका कारण इँटा उद्योगको उत्पादकत्व तुलनात्मक रुपमा पनि भारतीय कामदारबाट धेरै हुने गरेको बताइन् ।

हियान फुड इण्डिष्ट्रजकी सञ्चालिका शर्मिला अधिकारीले दक्ष कामदारका लागि भारतीय कामदारहरूमा भरपर्नु परेको भन्दै चिन्ता व्यक्त गरिन् । 

कार्यक्रममा झापाका दर्जनौं उद्योग प्रतिष्ठान सम्वद्ध प्रतिनिधिहरू, उद्योगी व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिहरू गरी ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै श्रम बजारको प्लेटफर्ममा जोडिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका थिए ।

View : 134

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved