Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

न्यूरो अस्पताल २५ औं वर्षमा : मधेसमा समेत सेवा विस्तार गरी २५० शय्या पुर्‍याउने घोषणा

२५ वर्षको यात्रामा अस्पतालले २५ लाखभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा दिएको जनाएको छ । अहिलेसम्म ७५०० भन्दा बढी न्युरो सर्जरी, ५००० भन्दा बढी मुटु सम्बन्धी प्रोसिडुर र ६००० भन्दा बढी हाडजोर्र्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
उद्‌घोष संवाददाता
५ भदौ २०८२, बिहिवार

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भदौ ८ मा स्थापनाको रजत जयन्ती मनाउँदैछ । अस्पताल स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा अस्पतालले अहिले कायम रहेको १५० शय्यालाई २५० शय्यामा विस्तार गर्ने घोषणा गरेको छ । 

यसैगरी कोशी प्रदेश र मधेश प्रदेशका थप तीन स्थानमा सुपर स्पेसियालिटी सेवा उपलब्ध गराउने तयारी पनि थालेको अस्पतालका संस्थापक डा. वीरेन्द्रकुमार विष्टले जानकारी दिएका छन् । 

शनिबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा रजत जयन्ती समारोह मनाउन लागेको अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

अस्पतालले अघि सारेको योजनालाई आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको अस्पतालले जनाएको छ । 

न्यूरो अस्पतालले न्युरोलोजी, न्युरो सर्जरी, मुटु रोग, हाडजोर्र्नी, स्त्री रोग, बाल स्वास्थ्य, मानसिक रोग, नेत्ररोग, नाक–कान–घाँटी, ग्यास्ट्रोलोजी, नेफ्रोलोजी, युरोलोजी, दन्त रोग, चर्मरोग, फिजियोथेरापी लगायत २० भन्दा बढी सेवा प्रदान गर्दै आएको छ ।

रजत जयन्तीका अवसरमा अस्पतालका अपरेसशन निर्देशक राजेश भट्टराईले भने  भने, ‘हामीले विगतमा गरेका योगदान हाम्रो सामूहिक विश्वास र सहयोगकै परिणाम हो । भविष्यमा पनि गुणस्तरीय सेवा सर्वसुलभ बनाउन निरन्तर प्रतिबद्ध रहनेछौं ।’ 

कोशी र मधेश प्रदेशका लागि मात्रै नभई भारतीय विरामीहरुलाई पनि सेवा दिइरहेको अस्पतालले आफ्नो यात्रा आरम्भ गरेको २५ वर्ष पूरा गरेको अवसरमा अस्पतालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गर्दै विविध सामाजिक तथा जनकल्याणकारी कार्यक्रमको आयोजना गरेको छ ।

२५ वर्षअघि डा बिष्टले बेलायतमा अध्ययन पूरा गरी विराटनगरमा  न्युरोलोजी सेवाको सुरुवात गरेका थिए । 

तत्कालीन समयमा मोरङमै पहिलो पटक सिटी–स्क्यान मेशिन जडान गरेर सेवा दिएको अस्पतालले  २०६७ मा पूर्वकै पहिलो निजी न्युरो सर्जरी सेवा सुरु गरेको थियो ।

२०७० मा अस्पतालले सेवा विस्तार गर्दै ‘न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी’ मा रुपान्तरण गरेको थियो । त्यसपछि मुटु रोग, नाक–कान–घाँटी, मानसिक रोग, बाल स्वास्थ्य, नेत्ररोग, जनरल सर्जरी, स्त्री रोग र प्रसूति लगायतका सेवा थपिए । 

२०७१ मा पूर्वकै पहिलो क्याथ ल्याब सुरु हुँदा २०७४ मा ‘तुलसा मदर एण्ड चाइल्ड’ अस्पताल स्थापना भएको थियो । 

पत्रकार सम्मेलनमा न्यूरो व्यवस्थापनले कोभिडकालमा गरेको सेवाको पनि स्मरण गरेको थियो । कोभिड–१९ को महामारीमा देश ठप्प रहेका बेला  २०७७ मा अस्पतालले अग्रपंक्तिमा रहेर ‘कोभिड हस्पिटल’ सञ्चालन गरेको थियो । 

अहिले विश्व प्रसिद्ध जनरल इलेक्ट्रिक कम्पनीको अत्याधुनिक एमआरआई जडान भएको अस्पतालमा २०८१ मा नेपालकै पहिलो १२८ स्लाइस एआई पावर्ड सिटी–स्क्यान पनि यही अस्पतालले सञ्चालनमा ल्याएको थियो । 

२५ वर्षको यात्रामा अस्पतालले २५ लाखभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा दिएको जनाएको छ ।

अहिलेसम्म ७५०० भन्दा बढी न्युरो सर्जरी, ५००० भन्दा बढी मुटु सम्बन्धी प्रोसिडुर र ६००० भन्दा बढी हाडजोर्र्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

रजत जयन्तीको अवसरमा अस्पतालले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । 

राधाकृष्ण रथयात्रामा हेल्थ डेस्क सञ्चालन, मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, रगतदान कार्यक्रममार्फत २५६ पिन्ट रगत संकलनजस्ता गतिविधि भएको अस्पतालले जनाएको छ । साथै, भदौ ८ देखि १४ सम्म २५ वटा परीक्षणमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अस्पतालले यस अवसरमा सामाजिक संस्था तुलसादेवी फाउण्डेशन स्थापना गर्ने घोषणा गरेको छ । 

फाउण्डेशनमार्फत हरेक वर्ष कोशी प्रदेशका उत्कृष्ट नर्स र मेडिकल अधिकृतलाई रु ५१ हजारसहित पुरस्कृत गर्ने निर्णय गरिएको छ । साथै, रक्तसञ्चार सेवा स्थापना, अस्पताल वरपरको सरसफाइ, वृक्षारोपण, सीसी क्यामेरा र अतिरिक्त बत्ती जडानलगायतका काम अघि बढाइने अस्पतालले जानकारी दिएको छ ।

View : 642

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved