विराटनगर । विराटनगर महानगरपालिकाले अन्तर विद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।
विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ विद्यालयले सहभागिता जनाएका छन् । प्रदर्शनीमा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएका छन् ।
प्रदर्शनीमा प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार, तृतीयले ५ हजार र चौथो हुनेले ३ हजार रुपैयाँ पुरस्कारका साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने महानगरका शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार त्यसबाहेक सहभागी विद्यालयमध्येबाट उत्कृष्ट अनुकूलन, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण र उत्कृष्ट स्टल सजावट गरी चार विधामा पनि पुरस्कृत गरिनेछ ।
प्रदर्शनीको उद्घाटन गर्दै महानगरका मेयर नागेश कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए ।
महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै उनले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, हिसान मोरङ अध्यक्ष अमित ढकाल, महानगर शिक्षा समितिकी सदस्य सावित्री पराजुली, सन्तोष पोखरेल, शिक्षक महासंघ विराटनगरका अध्यक्ष वेदु खतिवडालगायतले महानगरले विज्ञान प्रदर्शनी गरेर महत्वपूर्ण कार्य गरेको बताए ।
View : 447
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved