अमेरिका (टेक्सास) । नेपालीहरू सामान्य काम गर्न र गर्जो टार्न मात्र सात समुद्रपारि जान्छन् भन्ने छैन ।
नेपालीले अमेरिका जस्तो महाशक्ति राष्ट्रमा पनि नगर, प्रदेशको नेतृत्व गर्न सक्छन् भन्ने एक उदाहरण बनेका छन्, टीका पौडेल । उनी अमेरिकाको टेक्सास राज्यस्थित यूलेस नगरपालिकाको उपमेयर बनेर नगरको नेतृत्व गर्ने नेपाली बनेका छन् ।
उपमेयर पौडेलले झण्डै ४४ खर्ब रुपैयाँ बराबरको वार्षिक नगर विकास बजेट अनुमोदन गर्ने अधिकार पाएका छन् । साथै, उनले ६५० भन्दा बढी अमेरिकी सरकारी कर्मचारी परिचालन गर्ने जिम्मेवारी पनि सम्हालेका छन् ।
चितवनमा प्राध्यापन पेशामा आबद्ध रहेका पौडेल सन् २००७ मा अमेरिका आइपुगेका हुन् । यहाँ आएपछि उनले समाजसेवा, व्यवसाय र उद्यमशीलतामा आफूलाई परिचित बनाए ।
लगातार १० वर्षसम्म आवासीय क्षेत्रमा अध्यक्ष बनेर काम गरेका उनी सन् २०२१ मा यूलेस नगरपालिकाको चुनावमा काउन्सिल सदस्य निर्वाचित भएका हुन् । पछिल्लो चुनावमा भने उनी सात काउन्सिल सदस्यमध्येबाट निर्विरोध निर्वाचित भएका थिए ।
यूलेस नगरपालिकामा करिब ७० हजार मतदाता छन् । त्यसमध्ये केवल २०–२५ जना मात्र नेपालीभाषी छन् । यति थोरै नेपालीभाषी मतदाता हुँदाहुँदै पनि पौडेलले आफ्नो काम, इमानदारी र लोकप्रियताका आधारमा अमेरिकाको नगरपालिकामा उपमेयर बन्ने अवसर पाए ।
उनी भन्छन्, ‘म कानुनी रुपमा यूलेस नगरको मात्र उपमेयर भए पनि अमेरिकाभरिका २ लाख ५० हजारभन्दा बढी नेपाली भाषी समुदायको माया र भरोसा पाएको छु ।’
यूलेस नगरपालिकाले घरधुरी कर, बिक्री कर, इजाजत कर, जग्गा कारोबार करलगायतबाट कर उठाउँछ । पालिकाले उक्त रकमलाई योजना बनाएर खर्च गर्छ । पौडेलका अनुसार यहाँ ‘सिस्टमले काम गर्ने’ भएकाले मनोमानी हुँदैन ।
उनका शब्दमा, ‘नेपालमा त मेयर–उपमेयर भेट्नेबित्तिकै केही त झ्वाम पार्छन् भन्ने सुन्छौं । तर यहाँ चुनावमा खर्च गरेको उठाउन भन्दा, संविधान र प्रणालीनुसार काम हुन्छ । पद सानो–ठूलो भए पनि योजनामा सबैको मत बराबर हुन्छ ।’
टिकाराम नेति नेपाल
View : 419
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved