विराटनगर । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कोशी प्रदेशमा आफ्नो सेवा विस्तार र गुणस्तर सुधारलाई तीव्र पारेको छ । कम्पनीले पछिल्लो दुई महिनामा मात्रै कोशी प्रदेशका विभिन्न जिल्लामा ३० वटा नयाँ फोरजी टावरहरू थप गरी सञ्चालनमा ल्याएको छ ।
नयाँ टावरहरू सञ्चालनमा आएसँगै ग्राहकहरूले उच्च गतिको डेटा, गुणस्तरीय भ्वाइस र भोल्टे सेवाको सहज फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
एनसेलका अनुसार कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र इलाममा नयाँ टावरहरू जडान गरिएको छ । यसबाट झापाको गौरादह, अर्जुनधारा, बाह्रदशी; मोरङको रंगेली, जहदा, पहरी; सुनसरीको पश्चिम कुसाहा, इनरुवा, बर्जु र इलामको चुलाचुली एवं देउमाईलगायतका क्षेत्रका ग्राहकहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।
मोरङको धनपालथान गाउँपालिकाका स्थानीय पंकज कुमार यादवले भन्नुभयो, "नयाँ टावर थपिएपछि नेटवर्कको समस्या हटेको छ, अहिले गाउँबासीहरूलाई इन्टरनेट र फोनमा कुरा गर्न निकै सहज भएको छ ।"
एनसेलले यही पुस १६ भित्रमा देशभर झण्डै २०० वटा नयाँ टावरहरू थप्ने लक्ष्य राखेको छ, जसमध्ये १५० भन्दा बढी टावरहरू जडान भइसकेका छन् । कोशी प्रदेशमा मात्रै एनसेलका ८४० भन्दा बढी टावरहरू सञ्चालनमा छन् ।
आगामी दिनमा कम्पनीले खोटाङ, ओखलढुङ्गा र पाँचथर लगायतका पहाडी जिल्लाहरूमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ ।
देशको ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा फोरजी सेवा पुर्याएको एनसेलले डिजिटल कनेक्टिभिटीमार्फत ग्राहकको अनुभवलाई थप स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
View : 124
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved