Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

आफैंले जन्माएको दलबाटै लखेटिए विराटनगरका मुकुल

‘बालेन शाह काठमाडौँको मेयरमा निर्वाचित हुनु अगावै मैले  राजनीतिको नवीन कार्यदिशा भन्ने राजनीतिक दस्ताबेज तयार पारेको थिएँ’, मुकुलको भनाइ छ ‘त्यो दस्ताबेज रविलाई सुनाएँ । त्यसपछि पार्टी खोलेर जाने निष्कर्षमा हामी पुग्यौं ।’
उद्घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

अघिल्लो वर्ष साउनमा विराटनगरमा आयोजित रास्वपाको एउटा कार्यक्रममा मुकुल र सभापति रवि लामिछाने । तस्वीर : बाबुराम/उद्घोष

विराटनगर । विराटनगर–३ स्थित दूध फारमका बासिन्दा डा मुकुल ढकाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री बनेपछि एकाएक चर्चामा आएका थिए । अझ उनको प्रभाव र चर्चा त त्यसबेला झनै चुलियो, जब रास्वपाले आफूलाई मुलुककै चौथो ठूलो दलका रूपमा उभ्याउन सफल भयो ।

पार्टी गठन हुनुभन्दा अघिदेखि नै लामिछानेसँग परोपकारी काममा सहकार्य गरेका ढकाल अन्ततः उनै लामिछानेमाथि प्रश्न उठाएपछि पार्टीको साधारण सदस्यबाटै हटाइएका छन् ।

यसअघि महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाटसमेत निष्काशनमा परेका ढकाललाई मंगलबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय बैठकले साधारण सदस्यबाट पनि हटाएको छ ।

पेशाले चिकित्सक ३१ वर्षीय ढकालको पार्टीबाट भएको बहिर्गमनलाई  रास्वपाका नेताहरू अनपेक्षित मान्दैनन् । रास्वपा कोशीका सभापति राजेश तिम्सिना डा ढकाललाई सानैदेखि चिन्नेमध्येका एक पात्र हुन् ।

ढकालका दाइका सहपाठीसमेत रहेका तिम्सिनाले पनि यो दिन आउने थाहा भइसकेको बताए । ‘क्रियाको प्रतिक्रियाहरू धेरै हुँदै आएका थिए’, तिम्सिनाले भने ‘ढिलोचाँडो यो परिणाम आउने थाहा थियो । जे भयो यो नभएको भए राम्रो हुनेथियो ।’

‘खासमा रास्वपा जन्माएकै मुकुलले हो, रवि सर त पात्र मात्रै हुनुहुन्थ्यो’, उनले थपे ‘यस्तो पनि भन्न सकिन्छ, रास्वपाका लागि वीर्यदान रवि सरले गर्नुभएको थियो । गर्भधान चाहिँ मुकुलजीले गर्नुभएको थियो । तर, अहिले आफ्नै सन्तानबाट आमाको घाँटी निमोठिए जस्तो भएको छ । मुकुलजीले पनि पार्टीमा भन्नुपर्ने कुरा बाहिर भन्दै हिँडेर ठीक गर्नुभएको थिएन ।’

सभापति तिम्सिनाकै भनाइमा आफैले जन्माएको पार्टीमा सदस्यता नै खोसिने अवस्था भने सभापति रविसँगको ‘टसल’ ले निम्त्याएको हो । रविसँग मुकुलको सहकार्य कालिकोटको रासकोट अस्पताल बनाउने अभियानबाट सुरू भएको थियो ।

मुकुलको प्राथमिक शिक्षादीक्षा विराटनगरमै भएको थियो । सेन्ट जोसेफ स्कुलमा प्राथमिक तहको पढाइ पूरा गरेपछि उनलाई अभिभावकले काठमाडौं लगेर पढाएका थिए । उनले २०७४ भदौमा एमबीबीएस पास गरेका हुन् ।

एमबीबीएसको पढाइ पूरा गरेपछि उनले आस्क फाउन्डेसनमा काम गर्न थाले । यो फाउन्डेसन अमेरिकामा बस्ने नेपाली डाक्टरहरूले सञ्चालन गरेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।

फाउण्डेशनले दुर्गम क्षेत्रका जनतालाई टेलिमेडिसिनमार्फत सेवा दिने गथ्र्यो भने  मुकुल त्यहीँ कार्यरत रहँदै कालिकोट पुगेका थिए ।

‘विराटनगरमा जन्मे हुर्केको, काठमाडौंमा पढेको मलाई कालिकोटको दुरावस्थाले छोएपछि त्यहाँ अस्पताल बनाउने प्रण गरेको थिएँ’ रविसँगको भेटबारे मुकुलले यसअघि नै सार्वजनिक रूपमै भनिसकेका छन् ‘रास्कोटमा अस्पताल बनाउने उद्घोष गरेर त फर्किएँ तर कसरी भन्ने केही टुंगो थिएन ।’

कालिकोटबाट काठमाडौँ फर्किएपछि उनी स्वयम् क्यान्सरसँग जुध्न बाध्य भए । सन् २०१७ डिसेम्बर ३१ का दिन स्वास्थ्य परीक्षण गर्दा उनलाई घाँटीमा क्यान्सर रहेको पुष्टि भयो । सन् २०१८ को सुरूमै शल्यक्रिया गरेपछि उनी क्यान्सरमुक्त बनेका थिए । 

‘लामो उपचारपछि क्यान्सर जितको थिएँ, मेरो मनमा भने रास्कोट अस्पतालको सपना कायम थियो’, एउटा टेलिभिजन अन्तरवार्तामा उनले भनेका छन् ‘म फेरि त्यतै गएँ । रास्कोटमा अस्पतालका लागि जग्गा लिन सफल भयौं । अनि अस्पताल बनाउने सपना साँचेर फेरि काठमाडौं फर्किएँ ।’ 

त्यहीबेला उनी रविको सम्पर्कमा पुगेका थिए । ‘मैले एक्लै अस्पताल बनाउन सम्भव थिएन, कोही चर्चित व्यक्तिले अगुवाई गरिदिए हुने भन्ने लागेको थियो’, उनले अन्तरवार्तामा भनेका छन् ‘त्यतिबेला रवि लामिछानेको पासपोर्ट काण्ड आएको थियो । मैले पोसपोर्ट काण्डमा ध्यान दिइनँ ।  मैले तपाईंको नाम बेचेर अस्पताल बनाउँछु । मलाई मेरो नाम चाहिँदैन भनेँ । उहाँ आफ्नो नाममा अस्पताल बनाउन तयार हुनुभयो ।’ 

सिधाकुरा जनतासँग कार्यक्रममार्फत लोकप्रियता हासिल गरेका रविको नेतृत्वमा अस्पताल निर्माण सुरू भयो । मुकुल त्यसैमा लागिपरे । यसरी २०७७ चैत ३१ बाट मुकुलसहितका एमबीबीएस तहका डाक्टरहरूले रास्कोटमा उपचार सेवा सुरू गरेका थिए । मुकुल त्यो अस्पतालको प्रमुख थिए । त्यही सहकार्यका क्रममा मुलुकको राजनीतिबारे दुई जनाबीच छलफल भएको र आफूले पार्टी खोल्ने सल्लाह रविलाई दिएको मुकुलले बताउँदै आएका छन् । 

‘रविजीकै टिमका पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या दुरूत्साहनको मुद्दामा उहाँ  चितवनको प्रहरी हिरासतमा पर्नुभयो । उहाँको पक्षमा चितवनमा जनलहर उर्लियो’, मुकुले अन्तरवार्तामा भनेका छन् ‘रिहा भएपछि आफ्नो नामको फाउण्डेशनलाई पार्टीमा रूपान्तरण गर्न मैले नै सुझाव दिएको थिएँ ।’ त्यहीबेलादेखि मुकुलले रास्वपाको स्वरूप निर्माण कार्य सुरू गरेका थिए । घोषणापत्र लेख्नेदेखि दलको विधान बनाउनेसम्मका काममा मुकुल लागे । 

‘बालेन शाह काठमाडौँको मेयरमा निर्वाचित हुनु अगावै मैले  राजनीतिको नवीन कार्यदिशा भन्ने राजनीतिक दस्ताबेज तयार पारेको थिएँ’, मुकुलको भनाइ छ ‘त्यो दस्ताबेज रविलाई सुनाएँ । त्यसपछि पार्टी खोलेर जाने निष्कर्षमा हामी पुग्यौं ।’

पार्टीको नाम र चुनाव चिन्ह पनि मुकुलले नै जुराएका थिए । २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ ७ र समानुपातिकबाट १३ गरी २० सिट जितेको रास्वपाले उपनिर्वाचनबाट एक सिट थप्यो । र, प्रतिनिधिसभाको चौथो ठूलो दल बन्यो । 

रास्वपा नेताहरूका अनुसार लगत्तै रवि सत्ताको खेलमा लागे, पार्टीमा मुकुलको हालीमुहाली चल्यो । कसैका कुरा नसुन्ने, आफूलाई लागेको गर्ने भन्दै उनको आलोचना भयो । इलामको उपनिर्वाचनमा आफ्ना उम्मेद्वारको जमानतसमेत जफत भएपछि रविले नै उनलाई देश दौडाहामा पठाएका थिए ।

तर, फर्केर उनले जे प्रतिवेदन बनाए त्यही नै उनलाई रास्वपाबाट बाहिर पुर्‌याउने मुख्य कारण बन्यो । सभापति लामिछानेमाथि प्रश्नैप्रश्न उठाएको प्रतिवेदनलाई पहिले सार्वजनिक गरेको भन्दै उनीमाथि सुरूमा अनुशासनको कारबाही भयो । 
यसपटक भने साधारण सदस्यबाटै हटाउने निर्णय भएको छ । महामन्त्रीबाट हट्दा रवि लामिछाने क्लबबाट मात्रै हटेको बताउने मुकुल अब पार्टीबाटै हटेपछि के गर्छन् ?

सञ्चारमाध्यमसँग उनी मंगलबार दिनभरी नै सम्पर्कमा आउन चाहेनन् । पारिवारिक रूपमा निकटस्थहरूकै फोन पनि मुकुलले रिसिभ गरेनन् । ‘हामी पनि सम्पर्क गर्न प्रयास गरिरहेका छौं तर फोन रिसिभ भएको छैन’, उनको परिवार निकट स्रोतले भन्यो ‘मुकुलसँग केही कुरा हुन पाएको छैन । त्यसैले उसको प्रतिक्रिया बुझ्न सकिएको छैन ।’

View : 116

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved