Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

झिलकुमारी लुइँटेल पत्रकारिता पुरस्कारबाट विनोद भण्डारी सम्मानित

उद्‌घोष संवाददाता
१७ फागुन २०८२, आइतवार

विराटनगर ।  नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोषले पत्रकारितासहित विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई नगदसहित सम्मान गरेको छ ।

आइतबार मोरङको झोराहाटस्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा आयोजित एक विशेष समारोहका बीच ती सम्मानहरू प्रदान गरिएको हो ।

कोषले यस वर्षको ‘झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार’ बाट अग्रज पत्रकार विनोद भण्डारीलाई सम्मानित गरेको छ ।

विगत साढे दुई दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै भण्डारीलाई पुरस्कृत गरिएको कोषका अध्यक्ष शंकर लुइँटेलले जानकारी दिए ।

पुरस्कृत भण्डारीलाई पूर्वमन्त्री महेश आचार्य, कोषका अध्यक्ष शंकर लुइँटेल, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले ११ हजार १११ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे ।

 

पत्रकारितासँगै कोषले शिक्षा क्षेत्रमा लामो समय सेवा गरेर निवृत्त भएका शिक्षकहरूलाई पनि सम्मान गरेको छ । सरस्वती नमूना माविमा कार्यरत रही निवृत्त भएका शिक्षकद्वय ऋषिकेश भट्टराई र साजीलाल माझीलाई ‘छत्रपति लुइँटेल स्मृति सेवा निवृत्त शिक्षक सम्मान’ प्रदान गरिएको थियो ।

त्यस्तै, शैक्षिक प्रोत्साहन स्वरूप सोही विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरू आयुष आचार्य र रुविना दाहाललाई जनही २ हजार ५ नगद छात्रवृत्ति प्रदान गरिएको थियो ।

नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोषले हरेक वर्ष नियमित रूपमा पत्रकारिता पुरस्कार, शिक्षक सम्मान र छात्रवृत्ति जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ ।

 

कार्यक्रमका वक्ताहरूले यस प्रकारका पुरस्कार र सम्मानले समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई थप ऊर्जा र हौसला मिल्ने विश्वास व्यक्त गरे ।

View : 112

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved