Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

उद्‌घोष संवाददाता
९ कार्तिक २०८२, आइतवार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको हो ।

यसरी असोज मसान्तसम्ममा कूल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ ।

पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा एक खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा बेहोरेको छ ।

त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा एक खर्ब चार अर्ब ७० करोड छ ।

चीनबाट एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा १८ करोड ६४ लाख बराबरको मात्रै निर्यात भएको छ ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ ।

यो अवधिमा डेनमार्कबाट चार करोड एक लाखको आयात हुँदा २८ करोड ९९ लाखको निर्यात भएको हो ।

यसरी डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा भएको छ ।

जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ ।

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ ।

यो अवधिमा १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ ।

यो अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन आयात भएको छ । रासस

View : 257

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved