विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारको गैरजिम्मेवारीका कारण संसदको गरिमा कमजोर बन्दै गएको टिप्पणी गरेका छन् ।
साम्पाङले सरकार जवाफदेही नबन्दा संसदको प्रभावकारिता कमजोर बन्दै गएको बताएका हुन् । संसदमा उठाइएका गम्भीर राष्ट्रिय मुद्दामा सरकारले प्रतिक्रिया नदिने प्रवृत्तिका कारण संसद र फेसबुकबीचको अन्तर नै हराउन थालेको उनको टिप्पणी छ ।
विराटनगरमा आयोजित पार्टीको महानगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद अहिले ‘बोल्ने ठाउँ मात्रै’ मा सीमित भएको दाबी गरे ।
साम्पाङले संसद र सामाजिक सञ्जाल फेसबुकबीच कुनै अन्तर नरहेको जस्तो अनुभूति हुन थालेको उल्लेख गर्दै सरकार जवाफदेही नबन्दा संसदमा उठाइने विषयको कुनै अर्थ नरहने बताए ।
‘फेसबुकमा पनि बोल्छु, बोलेर केही हुँदैन । संसदमा पनि बोल्छु, बोलेर केही हु“दैन । जब सरकार जवाफदेही हुँदैन, तब बोलेको कुनै अर्थ रहँदैन,’ उनले भने ।
उनले प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै संसदप्रति उदासीन रहेको आरोप लगाए ।
प्रधानमन्त्री नियमित रूपमा संसदमा उपस्थित नहुने र उपस्थित भए पनि छोटो समयमै बाहिरिने गरेको भन्दै उनले नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील विषयमा समेत प्रधानमन्त्रीले स्पष्ट जवाफ दिन नचाहेको बताए ।
देशको आर्थिक अवस्था, उद्योग–व्यवसाय, कृषि, निर्माण क्षेत्र र मजदुरका समस्याबारे संसदमा पटक–पटक आवाज उठाउँदा पनि सरकारले चित्तबुझ्दो जवाफ नदिएको उनको गुनासो छ ।
सरकारले जनताको हितभन्दा बहुमतको दम्भ देखाएर नीति निर्माण गरिरहेको आरोप लगाउँदै साम्पाङले कर र उपभोक्ता हितसँग सम्बन्धित नीतिमा पर्याप्त सुधार नभएको दाबी गरे ।
उनले सरकार कामभन्दा नाम परिवर्तनमा बढी केन्द्रित भएको टिप्पणी पनि गरे । मन्त्रालयको नाम वा सार्वजनिक यातायातको रङ परिवर्तन गर्दैमा जनताको जीवनस्तरमा कुनै तात्विक परिवर्तन नआउने भन्दै उनले विकास र सुशासनमा ध्यान दिन सरकारलाई आग्रह गरे ।
कार्यक्रममा श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्ष प्रताप राई, प्रदेश समितिका सदस्य नरेन्द्र राई, नेता कृष्ण अटल लगायतले आफ्ना धारणा राखेका थिए । पार्टी नेता घनश्याम चाम्लिङले संचालन गरेको कार्यक्रममा पार्टीकी नेतृ बालकुमारी राईले स्वागत गरेकी थिइन् ।
View : 45
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved