पत्रकार सम्मेलन गरेर विवादबारे जानकारी दिंदै । तस्वीर: उद्घोष
विराटनगर । विराटनगरस्थित ट्राफिक चोकमा रहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) विराटनगर र इस्कोन नेपालबीच विवाद बढेको छ । इस्कोन नेपालसँगको विवादपछि इस्कोन विराटनगर शाखाका पदाधिकारीहरुले छुट्टै नयाँ संस्था दर्ता गराउन तयारी गरेका छन् ।
करिब एक वर्षदेखि आन्तरिक विवादमा पर्दै आइरहेको इस्कोन नेपाल र इस्कोन विराटनगरको विवाद जिल्ला प्रशासन कार्यालय मोरङसम्म पुगेको छ ।
इस्कोन नेपाल विराटनगर शाखाको रुपमा एक वर्षदेखि ब्रह्मचारी मनः शिक्षा दासको अध्यक्षतामा चल्दै आएको थियो । तर इस्कोन नेपालले देशभरीका शाखाहरुमा अध्यक्ष केन्द्रले तोक्ने गरी विधान संशोधन गरेपछि विराटनगरसहित नेपालभरीका विभिन्न इस्कोनका शाखाहरुले आपत्ति जनाएका छन् ।
गत बैशाख ११ गते भएको विधान संशोधनमा विराटनगर इस्कोनसँग कुनै छलफल नै नगरी आफैले अध्यक्ष तोक्ने निर्णय गरेपछि इस्कोन विराटनगरले आपत्ति जनाएको थियो । त्यसपछि केन्द्रले विभिन्न आरोप लगाई विराटनगरको समिति खारेज गरिदिएको ब्रह्मचारी मनःशिक्षा दासले बताए ।
शनिबार पत्रकारसँग कुरा गर्दै उनले लामो समयदेखि आफैले सम्पूर्ण खर्च जुटाएर इस्कोनको विराटनगर शाखा सञ्चालन गरिरहेको अवस्थामा इस्कोन नेपालले आफूहरुलाइ हटाउने प्रयास भइरहेको बताए । इस्कोन नेपालको कदमपछि नयाँ संस्था गठन गर्ने तयारी भइरहेको बताइएको छ ।
View : 724
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved