Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

दुर्घटनापछि मार्न फालिएको आरोप, प्रहरीले गरेको थियो उद्दार

उद्‌घोष संवाददाता
७ वैशाख २०८३, सोमवार

विराटनगर । सवारी दुर्घटनामा परेका एक किशोरलाई उद्धार गरेर अस्पताल पुर्याउने समूहले मार्न फालेको उनको परिवारले आरोप लगाएको छ ।

दुर्घटनाको ४ घण्टापछि मात्रै घाइतेलाई अस्पताल लगिएकाले फालेको ठाउँबाट प्रहरीले उद्धार गरेको बताइएको छ । 

गएको १ गते बेलुका ८ बजे सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउँंपालिका–२ सीतापुरस्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकललाई स्कोरपियो जिपले ठक्कर दिएको थियो ।

दुर्घटनापछि गाडीमा सवार समूहले घाइतेलाई अस्पताल लैजाने भनेर एकान्तमा लगि फालेको परिवारको दाबी छ । 

बा १५ च २९९४ नम्बरको स्कोरपियोले स १ प ६६९२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा २३ वर्षीय चालक विष्णुकुमार गुप्ता गम्भीर घाइते भएका थिए ।

घाइतेका साथी रञ्जीतकुमार मुखियाले अस्पताल लैजाने भनेर घाइतेलाई कुटपिट गरी एकान्तमा लगेर फालेको गुप्ता परिवारलाई जानाउ दिएका थिए । 

दुर्घटनापछि चालक ३२ वर्षीय चेतन चौधरी र गाडी प्रहरीको नियन्त्रणमा छन् ।

घाइते गुप्ताको न्युरो अस्पताल विराटनगरमा उपचार भई रहेको छ । 

घाइतेका बाबु धनुप्रसाद गुप्ताले छोरालाई फालेको ठाउंबाट चार घण्टापछि प्रहरीले उद्धार गरेको बताएका छन् । 

‘घाइते भए उपचारमा धेरै खर्च लाग्छ, म¥यो भने ५ लाख बीमाको पैसा भनेर छोरालाई फालेका हुन्’ गुप्ताले भने ।

उनका अनुसार दुर्घटना हुँदा मौलीस्थित प्रहरी कार्यालयका सहायक निरीक्षक हरि पोखेरलसमेतको सहयोगमा घाइतेलाई अस्पताल लगिएको थियो । पछी मध्यरातमा घाइतेको खोजी गर्ने क्रममा उनै पोखरेलले नै एकान्तमा घाइते लडेको अवस्थामा फेला परेको गुप्ताले बताए ।

घाइते विष्णुलाई राति उपचारका लागि राजविराज छिन्नमस्ता अस्पताल लगिएकोमा थप उपचारका लागि विराटनगर ल्याइएको थियो । 

उनको टाउकोमा रगत जमेको छ, उपचारमा लामो समय लाग्ने घाइतेका बाबुको भनाई छ । घाइतेकी आमा ठकनीदेवी गुप्ताले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएकी छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भई रहेको बताए । 

पीडित पक्षले भने प्रहरीले यो घटनालाई सामान्य रुपमा लिएकाले दुर्घटना गराउंने पक्षले घाइतेको उपचारमा चासो नलिएको बताएका छन् ।

घाइतेकी आमाको जाहेरीका आधारमा अनुसन्धान भई रहेको र चालक तथा गाडी प्रहरी नियन्त्रणमै रहेकाले ढुक्क हुन सप्तरी प्रहरीका निमित्त सूचना अधिकारी तथा निरीक्षक विजय कार्कीले बताएका छन् । उनले घटनाबारे सबैतर्फको अनुसन्धान भई रहेको जानकारी दिए ।

View : 541

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved