Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मन्त्रीले सचिवको गाडी खोसेको प्रकरण

कृषिकै कर्मचारीले भने– अपमानजनक घटना

उद्‌घोष संवाददाता
१८ भदौ २०८२, बुधवार

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले सोही मन्त्रालयमा सचिव डा. शरणकुमार पाण्डेले चढ्दै आएको गाडीको चाबी आफ्नो सचिवालयमार्फत खोसेपछि मन्त्रालयका कर्मचारीहरूले समेत विरोध गरेका छन् । 

घटनाप्रति नेपाल निजामति कर्मचारी संगठन कोशी प्रदेश समितिले सोमबार नै विज्ञप्तिमार्फत विरोध जनाइसकेको छ ।

मंगलबार उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतका विभिन्न प्राविधिक समुह सम्वद्ध कर्मचारी संघसंगठनहरूले समेत विज्ञप्तिमार्फत विरोध जनाएका छन् । 

घटनाका कारण सार्वजनिक सेवा प्रवाहमै नकारात्मक सन्देशसहित प्रतिकुल असर पुर्याएको उनीहरूले निश्कर्ष निकालेका छन् ।

सचिव पाण्डेले चढ्दै आएको को १ झ ६७९ नम्बरको गाडी मन्त्री हाङगामको निर्देशनमा उनकै निजी सचिवालयका कर्मचारी राजीव माबोहाङले खोसेका थिए । 

सचिव पाण्डे सोमबार बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन मन्त्रालयकै गाडीमा गएका थिए । तर कार्यक्रम सकेर फर्किने बेलामा गाडी नदेखेपछि मन्त्रालयमा सोधीखोजी गर्दा ‘सचिवलाई गाडी नदिनू भन्ने आदेश भएकोले’ भन्ने जानकारी पाएको पाण्डेले बताए ।

यो घटना सार्वजनिक भएपछि कर्मचारी सम्वद्ध संघ संगठनहरूले विरोध जनाएका छन् । 

नेपाल फिसरिज टेक्निसियन एसोसिएसन, नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसन कोशी प्रदेश समितिले संयुक्त विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन् । 

‘यस प्रकारको घटनाले सार्वजनिक सेवाप्रवाहमा नकारात्मक सन्देशसहित प्रतिकूल असर पुर्याउने प्रष्ट देखिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक र प्रशासनिक नेतृत्वबीच आपसी विश्वास, सद्भाव र सहकार्यलाई मजबुत बनाउनुपर्ने अवस्थामा यस्तो घटना हुनु दुःखद भएको हामी मान्दछौं । यस अमर्यादित तथा अपमानजनक घटनाप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरण बनाउन सबै सरोकारवालाहरूलाई अनुरोध गर्दछौं ।’

यसैबीच मन्त्री हाङगाम र सचिव पाण्डेबीच विवाद चर्किएपछि मोरङ प्रहरीले मंगलबारदेखि कार्यालयमा प्रहरी टोली खटाएको छ ।

View : 333

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved