Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

जंगलमा भेटिए ७० वर्षीय बृद्ध, आफ्नै छोराबुहारीले लगेर फालेको आरोप

उद्‌घोष सम्वाददाता
२ साउन २०८१, बुधवार

विराटनगर । मोरङको बेलबारी नगरपालिका–७ मा बसोबास गर्दै आएका एक ७० वर्षीय बृद्ध जंगलमा अलपत्र अवस्थामा भेटिएपछि उनको उद्धार गरिएको छ । बेलबारी–१ नक्सालपूर्वको जंगलमा जंगल गस्तीमा गएका स्थानीयले दुर्गन्धित अवस्थामा बृद्धलाई देखेपछि उद्धारको पहल गरेका थिए ।

बेलबारी नगरपालिकाको नगर प्रहरी र स्वास्थ्य शाखाको टोली, इलाका प्रहरी कार्यालय बेलबारी, वनका सुरक्षाकर्मीसहितको टोलीले जानकारी पाएपछि उनको त्यहाँबाट उद्धार गरेर अहिले बेलबारी नगर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अन्दाजी ७० वर्ष उमरेका ती बृद्ध बेलबारी–७ झाँगर टोलका जामुनलाल झाँगर रहेको प्रहरीले जनाएको छ । ती बृद्ध मागेर हिंड्ने गरेको खुलेको छ । उनी कसरी जंगलमा पुगे भन्ने विषयमा भने प्रहरीले समेत आशंका गरेको छ ।

ऊद्धारका क्रममा जंगलमा निकै अशत्त अवस्थामा फेला परेका उनले आफूलाई आफ्नै छोरा बुहारीले ल्याएर छाडेको बताएको उद्धारमा खटिएका सुरक्षा निकायले जानकारी दिएको छ । बृद्ध फेला परेको स्थानमा मोटरसाइकल गुडेको डामहरू देखिएकाले उनलाई कसैले ल्याएर छाडेको हुनसक्ने आशंका रहेको नगर प्रहरीले जनाएको छ ।

‘हामीलाई जंगलमा गएकाहरूले गन्हाएको अवस्थामा बृद्ध फेला परेको खबर गरे, नगर प्रहरीसहित नेपाल प्रहरी, हाम्रो स्वास्थ्य शाखाको टोली र वनको संयुक्त टोली गएर उद्धार गरेका छौं’ नगर प्रहरी बल बेलबारीका नगर प्रहरी सहायक निरीक्षक मोहनबहादुर बिष्टले भने, ‘मोटरसाइकलमा छोराबुहारीले ल्याएर फालेको रहेको छ, उहाँलाई कसले ल्याएको भनेर सोध्दाखेरी छोराबुहारीले भन्ने लगेर फालेको भन्नुभयो, उनको नगर अस्पतालमा उपचार भइरहेको छ ।’

बिष्टका अनुसार ती वृद्धले पाँच दिनदेखि जंगलमा केही खान नपाइ दिनरात बिताएको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले बृद्धको उद्धार गरिएको जानकारी दिंदै उनका आफन्त कोही पनि पत्ता नलागेको बताएका छन् । बृद्धको उद्धारपश्चात उपचार भइरहेको र प्रहरीले उनका आफन्तको पनि खोजी गरिरहेको उनले जानकारी दिए । आफन्त पत्ता लागेपछि मात्रै थप अनुसन्धान हुने र सत्यतथ्य बाहिर आउने प्रहरीको भनाइ छ ।

View : 280

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved