Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

२०७९ को चुनावको जनादेश अस्थिरताको जनादेश हो : महासचिव पोखरेल

उद्‌घोष सम्वाददाता
२५ कार्तिक २०८०, शनिवार

विराटनगर, २५ कात्तिक : नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०७९ को निर्वाचनबाट कुनै पनि सरकारले पाँच बर्ष पूरा गर्न नसक्ने गरी जनादेश प्राप्त भएको भन्दै त्यसको उदाहरण कोशी प्रदेश भएको दावी गरेका छन् ।

नेकपा एमाले मोरङले शनिबार पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको चाडबाडको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुक निर्माण हुने गरी जनादेश प्राप्त नभएको बताएका हुन् । अहिले अत्यन्तै कमजोर जनादेशको सरकार बनेका कारण सरकारले विकास र समृद्धिको ठोस कुनै पनि काम गर्न नसकेको आरोप लगाए । 

उनले एमाले जनताले पत्याएको पार्टी भएर पनि शासन सत्ता बाहिर बसेको भन्दै अहिले जनताले इतिहासकै कमजोर सरकार व्यहोरिरहेको पनि दाबी गरे ।

‘सातवटा प्रदेशहरु मध्ये ६ वटामा एमालेले समानुपातिकतर्फको लोकप्रिय पहिलो मत प्राप्त गर्‍यो, ७७ जिल्ला मध्ये ४४ वटामा पहिलो मत प्राप्त भयो तर पनि हामी सरकारमा छैनौं’ महासचिव पोखरेलले भने, ‘हामीले प्राप्त गरेको २०७९ को चुनावको जनादेश अस्थिरताको जनादेश हो, कुनैपनि सरकारले पाँच वर्ष काम गर्न पाउने अवस्था छैन, त्यसको उदाहरण कोशी प्रदेशमै हेरे हुन्छ, यहाँ एक वर्ष पनि नपुग्दै पाँचवटा सरकार आइसके ।’

महासचिव पोखरेलले एमाले र नेपाली सेना नभएको भए यो मुलुक नै स्वाधिन नरहने दाबीसमेत गरे । उनले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणबाट नेपालको पक्षमा कुनै पनि ठोस सम्झौता गर्न नसकेको आरोप लगाए । उनले अहिलेको सरकार अत्यन्तै कमजोर सरकार भएको टिप्पणी गरे ।

‘यो सरकार विदेशीहरुका लागि मात्रै कम्फर्टेबल छ, नेपाली जनताको लागि कम्फर्टेबल सरकार बन्नै सकेन’ पोखरेलले भने, ‘आगामी निर्वाचनबाट एमालेको नेतृत्वमा मुलुक बन्ने गरी जनादेश आउनुपर्छ, त्यसका लागि सवै कार्यकर्ताहरु पार्टी निर्माणमा खटिनुपर्छ ।’

महासचिव पोखरेलले माओवादीकै कारण नेपालका मौलिक चाडपर्वहरु विघठनको अवस्थामा पुगेको आरोप लगाए । विगतमा माओवादीले नै पण्डितहरुमाथि हिंसात्मक व्यवहार गरेर त्यसको पाप पखाल्न प्रचण्डले अहिले भारतका मन्दिरहरुमा पुगेर १०८ वटा रुद्राक्षको माला चढाएको टिप्पणी गरे ।

उनले कोशी प्रदेशमा पनि मिलेर बसेको समाजलाई माओवादीकै माध्यमबाट विभाजित गर्ने प्रयास भइरहेको बताए । एमाले राष्ट्रिय स्वाधिनताका पक्षमा काम गर्ने पार्टी भएकोले माओवादीहरु मार्फत अहिले पनि एमालेविरुद्ध प्रहार भइरहेको बताए ।

कोशी प्रदेश नामकरणको सन्दर्भबारे एमाले महासचिव पोखरेलले कोशी सभ्यताको विकासमा किराँत वा राई लिम्बूकै महत्वपूर्ण भूमिका रहेको जिकिर गरे । 

एमाले मोरङको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली नै आउने भन्दै प्रचार गरिएकोमा ओलीको स्वास्थ्य समस्याका कारण महासचिव पोखरेल प्रमुख अतिथि बनेर विराटनगर आएका थिए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य डा.शिवमाया तुम्बाहाम्फे, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, पूर्वमुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की लगायतका नेताहरुले शुभकामना दिएका थिए ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका हजारौं नेता कार्यकर्ताहरु सहभागी भएका थिए । त्यसैगरी विभिन्न राजनीतिक दल, उद्योगी व्यवसायी, नागरिक समाज, सुरक्षा निकाय, सामाजिक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता  थियो ।

View : 164

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved