Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

‘लेटाङ रन–३’ मा आठ सय धावक दौडिदै

उद्‌घोष संवाददाता
९ पुष २०८२, बुधवार

लेटाङ । लेटाङ रनको तेश्रो संस्कारण माघ १ गते हुने तय भएसँगै धावकको सूची बढ्दै गएको छ । लेटाङ रनको आयोजनामा हुन लागेको तेस्रो संस्करणमा आठ सय बढी धावकहरूले सहभागीता जनाउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

लेटाङ रनका अध्यक्ष किरण राईले यसवर्षको लेटाङ रन विगतभन्दा बृहत र व्यापक सहभागितामा हुने जानकारी दिए । लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरूको सहभागिता रहने उनले बताए । 

प्रतियोगितात्मक रुपमा संचालन हुने दौडमा यस बर्ष चार वटा विधामा महिला र पुरुषतर्फ जम्मा आठ वटा प्रतिस्पर्धा हुनेछन् । सबैभन्दा ठूलो पुरस्कार राशीको खुला पुरुष तथा महिला तर्फको १० किलोमिटरको म्याराथन प्रतियोगिता संचालन हुनेछ । त्यसमा विदेशी खेलाडीहरूले समेत खुला रुपमा सहभागिता जनाउने जनाइएको छ ।

यो विधातर्फ पहिलो हुने महिला र पुरुषले ३० हजार नगदसहित मेडल प्राप्त गर्नेछन् । दोश्रोले १५ हजार, तेश्रोेले ८ हजार र सान्त्वना २ जनाले ११ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । 

लेटाङ नगरपालिका भित्रका धावकमात्रै सहभागी हुने ‘हाम्रो लेटाङ’ विधातर्फ प्रथम हुने महिला र पुरुष दुवैले ७ हजार नगदसहित मेडल प्राप्त गर्नेछन् । दोश्रोले ४ हजार, तेश्रोले ३ हजार र सान्त्वना २ जनाले १÷१ हजार नगद पुरस्कार पाउने जनाइएको छ ।

भेट्रान महिला र पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले १० हजार नगद र मेडल, दोश्रोले ५ हजार र तेश्रो हुनेले ४ हजार नगद पुरस्कार पाउने छन् । 

कक्षा ८ भन्दा तल अध्ययनरत विद्यार्थीहरूतर्फ महिला र पुरुषको प्रतिस्पर्धामा प्रथम हुनेले मेडलसहित ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार रुपैयाँ नगद पुरस्कार पाउने जनाइएको छ ।

लेटाङ रनकी सचिव मनकुमारी राईले महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राशी राखिएकाले महिला धावकहरूको उत्साहपूर्वक प्रतियोगितामा सहभागी हुने अपेक्षा गरिएको बताइन् ।

लेटाङ रनको सवै समुहको दौड माघ १ गते लेटाङ बजारको वीपी चौकबाट सुरु हुने र निर्धारित दुरी पुरा गरि पुनः वीपी चौकमा आइपुगेर सम्पन्न हुने जनाइएको छ । 

लेटाङ नगरपालिकासहित स्थानीय सामुदायिक वन, हाल बेलायतमा रहेका सन्तोष राई लागयत विभिन्न संस्था र व्यक्तिहरूले यो प्रतियोगितात्मक कार्यक्रमलाई सहयोग गर्दै आएका छन् ।

प्रतियोगिताका लागि ९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ ।

दौडमार्फत लेटाङ नगरपालिकालाई प्रवद्र्धन गर्न मद्दत पुग्ने दाबी गरिएको छ । साथै, युवाहरूलाई खेलकुदमा आकर्षित गरी लागुऔषध दुव्र्यसनको कुलतविरुद्धको अभियानलाई सफल बनाउन समेत मद्दत पुग्ने लेटाङ रनका सदस्य तथा कमलपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।

View : 136

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved