प्रदेश सरकारको निर्णयमा अदालतको अंकुश
विराटनगर । सोमबार सुरू भएको कोशी प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सरकारतिर केही प्रश्नहरू सोझ्याएका थिए । त्यसमध्ये एउटा थियो, पूर्व मुख्यमन्त्री उद्धव थापालाई गाडी सुविधा दिने सरकारले अरू पूर्व मुख्यमन्त्रीहरूलाई किन नदिएको ?
आफ्नो बोल्ने पालो आएपछि कांग्रेस संसदीय दलका नेता थापाले सरकारले हलुका सवारी साधन दिएको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले थपे ‘मैले त गाडी फिर्ता गर्ने सोच बनाएको थिएँ तर अदालतमा मुद्दा परेको छ । मेरा वकिलहरूले अदालतको निर्णयसम्म कुरौं भन्नुभयो ।
फेरि पटकपटक सरकार फेरिदा क–कसले कसरी (गाडी) प्रयोग गरेका छौं ? त्यो त उदाहरण छ नि । मैले गाडी लिएकोमा साथीहरूले चित्त नदुखाइदिनु्स् ।
अदालतले फिर्ता गर् भन्यो भने गर्छु, चढ् भन्यो भने तपाईंहरूले जति भने पनि चढ्छु । अदालतले नै चढ् भनेपछि अरूले भनेर के हुन्छ र !’
थापा र राईबीच सदनमा यस्तो सवालजवाफ चलेको केही घण्टा नबित्दै उच्च अदालत विराटनगरले यसबारे अन्तरिम आदेश जारी गरेको छ । जसमा थापालाई गाडी सुविधा दिने प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिइएको छ ।
थापालाई गाडी सुविधा दिने निर्णयविरूद्ध दायर भएको रिट अदालतमा विचाराधीन थियो । न्यायाधीशहरू राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले थापालाई गाडी सुविधा उपलब्ध गराउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
एमालेसँगको सत्ता सहयात्री कांग्रेस नेता थापालाई प्रदेश सरकारले हलुका सवारी साधन, सवारी चालक र मासिक रूपमा १२५ लिटर इन्धन सुविधा उपलब्ध गराउने निर्णय गर्दै उनलाई गाडी उपलब्ध गराएको थियो ।
गएको असोज १३ को प्रदेश मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको हो ।
अधिवक्ताहरू कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले पुस २१ मा रिट दायर गरेको यो प्रकरणमा अदालतले भोलिपल्टै सुनुवाई गर्दै कारण देखाउ आदेश दिएको थियो ।
उनीहरूले दायर गरेको रिटमा ‘ऐन नबनाई व्यक्तिगत रूपमा सत्तारूढ दलको संसदीय दलको नेतालाई सुविधा दिएको’ उल्लेख थियो ।
हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन भन्दै अदालतले आदेश दिएपछि सरकारको निर्णय क्षमतामाथि गम्भीर प्रश्न उठेको कानुन व्यवसायीहरूले बताएका छन् ।
View : 149
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved